© २०२३
काठमाडौँ ।
हिंसा भड्काउने अभिव्यक्ति दिएका डा. निकोलस भुसाललाई प्रहरीले पक्राउ गरेको छ । उनी मंगलबार गोरखाबाट पक्राउ परेका हुन्, जानकारी उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले रातोपाटीलाई दिएका छन् ।
भुसाल गोरखा नगरपालिका–८ स्थित सरस्वती आश्रमबाट पक्राउ परेका हुन् । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई गोरखाबाट काठमाडौँ ल्याउँदैछ ।
भुसालले कार्तिक १६ मा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक र काठमाडौँका तत्कालीन प्रजिअ छवि रिजालको घर घेर्ने भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।
सामाजिक सञ्जालमा त्यस्तो अभिव्यक्ति दिएको कारण तरुण दलका एक जना कार्यकर्ताले भुसालको समूहलाई प्रतिकारको चेतावनी दिएका थिए । मुठभेट हुन नदिनको लागि उनलाई नियन्त्रणमा लिइएको प्रहरी अधिकृतहरूले बताएका छन् ।
यसअघि २३ असोजमा माइतीघरमा प्रदर्शन गर्न खोज्दा प्रहरीले उनलाई पक्राउ गरेको थियो । स्वास्थ्य जाँच गर्दा गाँजा सेवन गरेको रिपोर्ट आएपछि उनलाई सुधार केन्द्रमा लैजाने सर्तमा उनका दाजुले जिम्मा लिएका थिए ।
त्यसपछि पनि उनको विवादित अभिव्यक्ति रोकिएको छैन । जेनजी प्रदर्शनमा भुसालले ओली, लेखक र प्रजिअले सर्वसाधारणको ‘हत्या’ गरेको अभिव्यक्ति दिँदै तीनैको घर घेरी कारबाही गर्ने चेतावनी दिएका थिए ।