Butwal Today

सिमेन्ट उद्योगमा विद्युतको लाइन काटिएपछि मजदुर आन्दोलनमा 

१६ कार्तिक २०८२, आइतबार
अ+
अ-

दाङ ,१६ कात्तिक ।

विद्युत् लाइन काटिएपछि बन्द भएका घोराही र सोनापुर सिमेन्ट उद्योगका मजदुरले आज आइतबार नेपाल विद्युत् प्राधिकरण घोराही वितरण केन्द्रमा धर्ना दिएका छन् ।

’मजदुरको रोजगारी ग्यारेन्टी गर, बन्द उद्योग खुला गर’ मजदुर मार्न पाइँदैन  भन्ने नारा लगाउँदै उनीहरूले प्रदर्शन गरेका छन् । प्राधिकरणले कात्तिक ४ गते घोराही सिमेन्ट र कात्तिक ७ गते सोनापुर सिमेन्ट उद्योगको विद्युत् आपूर्ति बन्द गरेपछि दुवै उद्योग बन्द भएका छन् ।

घोराही सिमेन्ट उद्योगले दैनिक ३ हजार मेट्रिक टन क्लिंकर र आवश्यकताअनुसार सिमेन्ट उत्पादन गर्दै आएको थियो । उद्योग बन्द भएपछि ६ सय कामदार र कर्मचारी कामविहीन भएका छन् ।सोनापुर सिमेन्ट उद्योगले दैनिक ३५ हजार बोरा सिमेन्ट उत्पादन गर्दै आएको थियो ।

उद्योग बन्द भएपछि ३ सय ५० कर्मचारीलाई अर्को सूचना नभएसम्म काममा नआउन भनिएको छ ।

घोराही सिमेन्ट उद्योगको ५० करोड ८५ लाख र सोनापुर सिमेन्ट उद्योगको २४ करोड ३० लाख रुपैयाँ विद्युत् बक्यौता रहेको  भन्दै प्राधिकरणले  लाइन काटेको जनाएको छ ।