© २०२३
काठमान्डौ, १६ कार्तिक ।
चार दिनदेखि बन्द रहेको काठमाडौँ उपत्यकाको बञ्चरेडाँडा ल्याण्डफिल साइट आज पुनः खुलेको छ । सहरी विकास मन्त्री कुलमान घिसिङ नेतृत्वको टोलीले स्थानीय बासिन्दा र जनप्रतिनिधिहरूसँग छलफल गरी स्थानीयको माग १५ दिनभित्र पूरा गर्ने प्रतिबद्धता जनाएपछि फोहोर फाल्न अनुमति दिइएको हो । ककनी गाउँपालिका–३ का वडाध्यक्ष घननाथ बजगाँईले जानकारी दिए ।
वडाध्यक्ष बजगाँईका अनुसार, “‘स्थानीयको माग १५ दिनभित्र सम्बोधन भएन भने फोहोर फाल्न रोक्नुस्’ तर अहिले नरोक्नुस् भनेर मन्त्रीज्यूले स्पष्ट निर्देशन दिएपछि हामीले फोहोर फाल्न अनुमति दिएका हौँ । अहिले रोकिएका गाडीहरू बञ्चरेडाँडामा पुग्न थालेका छन् ।”
आज बिहानै कुलमान घिसिङसहित काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं र वातावरण विभाग प्रमुख सरिता राई लगायतको टोली बञ्चरेडाँडामा पुगेको थियो ।
ल्याण्डफिल साइट क्षेत्रका स्थानीयवासीले २०७९ जेठ २६ गते भएको १८ बुँदे सम्झौतामा संघीय सरकार र महानगरपालिकाले उदासीनता देखाएको भन्दै फोहोर फाल्न अवरोध गरेका थिए । शुक्रबार सहरी विकास मन्त्रालयमा छलफल भए पनि निष्कर्षमा पुग्न सकिएको थिएन ।
काठमाडौँ महानगरपालिका तथा उपत्यकाका स्थानीय तहबाट दैनिक करिब १५० भन्दा बढी गाडी बञ्चरेडाँडामा फोहोर पुर्याइन्छ । यसबाट नुवाकोटको ककनी गाउँपालिका र बेलकोट गढी नगरपालिका, साथै धादिङको धुनवेशी नगरपालिका क्षेत्रका स्थानीय प्रभावित भइरहेका छन् ।