Butwal Today

दाउन्ने खण्डमा सवारी साधनको जाम

१६ कार्तिक २०८२, आइतबार
अ+
अ-

बुटवल, १६ कार्तिक ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्ने खण्डमा सवारी साधनको लामो जाम भएपछि यात्रुहरू समस्यामा परेका छन् । निरन्तरको वर्षाका कारण सडक चिप्लो बनेको र केही सवारी साधन बिग्रिएर बाटोमै रोकिँदा यातायात अवरुद्ध भएको हो ।

अरुणखोला र चोरमाराको जंगल क्षेत्रसम्म सयौँ सवारी साधन रोकिएका छन् । स्थानीयका भनाइमा सो क्षेत्रमा करिब ४०० गाडी लाम लागेर रोकिएका छन् ।

जिल्ला प्रहरी कार्यालय, पूर्वी नवलपरासीका प्रहरी निरीक्षक मोहन खड्काका अनुसार दाउन्ने खण्डमा अहिले अत्यधिक सवारी चाप छ । “दाउन्ने सडकको तिसठ्ठी मोडमा चार ट्रक र एक बस बिग्रिएर रोकिएकाले राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ,” उनले भने, “वर्षाका कारण बाटो चिप्लो भएकोले हिजोदेखि नै समस्या बढेको छ ।”

खड्काका अनुसार थुप्रै संख्यामा यात्रुहरु सडकमै अलपत्र परेका छन् ।