Butwal Today

भैरहवामा श्री एयरलाइन्स जहाजको आपतकालीन अवतरण

१५ कार्तिक २०८२, शनिबार
अ+
अ-

बुटवल, १५ कार्तिक ।

धनगढीबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाजले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरण गरेको छ । दुई बालबालिका सहित ८२ जना यात्रु लिएर उडेको उक्त जहाजमा ल्याण्डिङ गियरमा समस्या देखिएपछि बिहान ११ः४५ बजे अवतरण गरिएको हो ।

विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतका अनुसार, पाइलटले हाइड्रोलिक प्रणाली र ल्याण्डिङ गियरमा समस्या देखिएको जानकारी दिएपछि तुरुन्तै आपतकालीन अवतरण गरिएको हो ।

जहाजका कारण केही समयका लागि विमानस्थलमा उडान अवरुद्ध भए पनि अपराह्नदेखि जहाजलाई साइड लगाएर अन्य उडान सञ्चालन गरिएको छ ।

जहाजमा रहेका सबै यात्रु सकुशल छन् ।