© २०२३
कालिकोट ।
जिल्ला प्रशासन कार्यालय कालिकोटले पहिलो पटक गैर आवासीय नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको छ ।
बुधबार पहिलो पटक तिलागुफा नगरपालिका–८ निबासी ललिता कुमारी न्यौपानेलाई प्रमुख जिल्ला अधिकारी गोकर्ण राज सुयलले गैर आवासीय नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गर्नुभएको हो ।
कानुनमा के छ ?
संशोधित नागरिकता ऐनमा विदेशी मुलुकको नागरिकता प्राप्त गरी सार्क सदस्य राष्ट्रबाहेकका देशमा बसोबास गरेको र साविकमा वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने” व्यवस्था छ ।
यो कानुनी व्यवस्थाअनुसार विदेशको नागरिकता लिएका तर कुनै समय नेपाली नागरिक रहेका व्यक्तिहरूका नातिनातिनासम्मले गैर आवासीय नेपाली नागरिकता पाउँछन् । नेपालको नागरिकता फिर्ता नगरी विदेशी नागरिकता लिएका व्यक्तिले गैर आवासीय नेपाली नागरिकता लिन पहिले लिएको नेपाली नागरिकता फिर्ता गर्नुपर्ने नियम छ ।
न्यौपानेले गैर आवासीय नागरिकता प्रमाणपत्रको लागि ८(ग) बमोजिम वडाबाट लिएको सिफारिस सहितको निवेदन जिल्ला प्रशासन कार्यालयमा निवेदन पेस गर्नु भएको थियो । उहाँ अमेरिकाको टेक्ससमा बस्दै आउनुभएको छ । सेवाग्राहीको सङ्ख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय कालिकोटले बुधबार बिहान ७ बजे देखि साँझ ८ बजे सम्म २ सय ५ जनालाई सेवा दिएको छ ।