© २०२३
काठमान्डौ, १२ कार्तिक ।
तिहारपछि सुनको मूल्य लगातार घट्दै गएको छ । पर्वअघि उच्च स्तरमा पुगेको सुन आइतबारदेखि क्रमशः सस्तिँदै गएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलाको दुई लाख ४१ हजार नौ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार र मंगलबार निरन्तर घटेको थियो ।
आज (बुधबार) पनि सुनको मूल्य ७ सय रुपैयाँले घटेर तोलाको दुई लाख ३६ हजार तीन सय रुपैयाँमा झरेको महासंघले जनाएको छ । हिजो (मंगलबार) तोलाको मूल्य दुई लाख ३७ हजार रुपैयाँ थियो ।
यसैबीच, चाँदीको मूल्य भने वृद्धि भएको छ । हिजो तोलाको दुई हजार नौ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज ४५ रुपैयाँले बढेर दुई हजार नौ सय ६५ रुपैयाँमा पुगेको महासंघले जनाएको छ । आइतबार चाँदीको मूल्य तोलाको तीन हजार १५ रुपैयाँ थियो ।
यसअघि, असोज ३१ गते सुनचाँदीको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको थियो । सो दिन सुन तोलाको दुई लाख ५८ हजार रुपैयाँ र चाँदी तोलाको तीन हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको थियो ।