© २०२३
काठमान्डौ, ११ कार्तिक ।
जेनजी आन्दोलनका क्रममा उदण्ड मच्चाउँदै तोडफोड र आगजनी गरेको आरोपमा पक्राउ परेका एक व्यक्ति नेपाली सेनाबाट बर्खास्त परेका रहेको खुलेको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दानबहादुर कार्कीका अनुसार सोमबार मिनभवन क्षेत्रबाट पक्राउ परेका २७ वर्षीय भुवन शाही पूर्व सैनिक हुन् । उनी कञ्चनपुरको बेलौरी नगरपालिका–१ का स्थायी बासिन्दा र हाल काठमाडौंको धापासी कृष्ण मन्दिर क्षेत्रमा बस्दै आएका थिए ।
प्रहरीका अनुसार शाहीलाई २४ भदौको जेनजी आन्दोलनका क्रममा प्रहरी वृत्त गौशाला तोडफोड, आगजनी र लुटपाटमा संलग्न रहेको भिडियो प्रमाणका आधारमा पक्राउ गरिएको हो ।
शाहीले सन् २०१७ (२०७४ साल) मा नेपाली सेनामा प्रवेश गरेका थिए । तर, २०७५ सालमा चालकको रूपमा नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रयोग गरेको पुष्टि भएपछि उनलाई सेनाबाट बर्खास्त गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोलीले उनलाई सोमबार पक्राउ गरेको हो ।
प्रहरीका अनुसार आन्दोलनको भीडमा रहेका शाहीले बानेश्वरस्थित ग्लोबल कलेजमा प्रवेश गरी लुटपाट गरेको प्रमाण पनि फेला परेको छ ।
फुटेजका आधारमा उनले प्रहरीको एक थान मोटरसाइकल, प्रहरीको राइट कन्ट्रोल गियर, ग्लोबल कलेजका दुई थान ट्रफी, गाडीको ड्यासबोर्डमा राख्ने गणेशको मूर्ति र क्यानन कम्पनीको डीएसएलआर क्यामेरा लुटेको देखिएको छ ।
एआईजी कार्कीका अनुसार पक्राउ परेका शाहीविरुद्ध सार्वजनिक सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाटसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ ।