© 2026
काठमाडौँ ।
छठ पर्वलाई लक्षित गर्दै जनकपुर लगायतका सहरहरूमा चोरी, लुटपाट र महिला हिंसा जस्ता अपराधिक गतिविधि हुन नदिन व्यापक प्रहरी परिचालन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले छठ पर्वको समयमा ताल, पोखरी र सार्वजनिक स्थलहरूमा शान्ति सुरक्षाका लागि आवश्यक सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिएको छ ।
सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमका अनुसार, चोरी, लुटपाट र अन्य अप्रिय घटना हुन नदिन करिब ७ सयभन्दा बढी प्रहरी परिचालन गरिएको छ ।
बमले भने, “छठ पर्वमा सुरक्षा चुनौतीहरू छन्, जस्तै चोरी, लुटपाट, महिलाहरूमाथि हुने हिंसा र अन्य अपराधिक गतिविधि। त्यसैले हामीले गंगा सागर, धनु सागर लगायत विभिन्न पोखरी र वरिपरि विशेष सुरक्षा व्यवस्था मिलाएका छौं ।”
सवारी व्यवस्थापनका लागि ट्राफिक प्रहरीसँग समन्वय गर्दै विभिन्न स्थानमा ब्यारिकेट राखेर व्यवस्थापन गरिएको पनि उनले जानकारी दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाले सर्वसाधारणलाई अपिल गर्दै भनेको छ, “तराई–मधेसमा छठ पर्वमा चोरी र लुटपाटको घटना हुन सक्ने भएकाले घर बाहिर जानुपरेमा नजिकैको प्रहरीलाई खबर गरेर जानुहोस् ।”