Butwal Today

तिहारपछिको पहिलो कारोबारमा नेप्से बढ्यो, अन्य समूहमा ३ प्रतिशत वृद्धि

९ कार्तिक २०८२, आइतबार
अ+
अ-

 काठमाडौं, ९ कात्तिक ।

आइतबार अन्तिम समयमा सेयर बजारले सकारात्मक लय समातेको छ ।

साढे २ बजेपछि वृद्धिको प्रभाव देखिएको नेप्से अन्ततः ५.१९ अंक बढेर २५०९ अंकमा पुगेको छ । बिहान ११ः२३ बजे नेप्से २४७० अंकसम्म झरेको थियो, जुन कारोबार अवधिभरको न्यून अंक हो ।

आजको कारोबार रकम न्यून देखियो । जम्मा २ अर्ब ६६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । तिहारअघिको अन्तिम कारोबार दिन २ अर्ब ७९ करोडको कारोबार भएको थियो ।

आज ९८ कम्पनीको मूल्य बढ्दा १४६ कम्पनीको मूल्य घटेको छ भने ४ कम्पनी स्थिर रहे । समूहगत विश्लेषणमा आज “अन्य” समूह सबैभन्दा बढी ३.०५ प्रतिशतले बढेको छ । नेपाल पुनर्बीमाको मूल्य ७.१० प्रतिशत बढेसँगै अन्य समूहमा उच्च वृद्धि देखिएको हो ।

त्यस्तै, जीवन बीमा ०.६१, उत्पादन तथा प्रशोधन ०.०२, निर्जीवन बीमा ०.०८ र व्यापार ०.८१ प्रतिशतले बढेका छन् । बैंकिङ ०.३५, विकास बैंक ०.२९, फाइनान्स ०.७२, होटल तथा पर्यटन ०.५७, हाइड्रोपावर ०.३३, माइक्रोफाइनान्स ०.२३ र लगानी ०.३४ प्रतिशतले घटेका छन् ।

आज सबैभन्दा धेरै मूल्य वृद्धिः समता घरेलु लघुवित्त ८.८९ प्रतिशत, हिमालयन पावर पार्टनर ७.६३, नेपाल पुनर्बीमा ७.१०, महिला लघुवित्त ६.०५, क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स ५.७० र भूगोल इनर्जी ५.०८ प्रतिशत बढेका छन् ।

सबैभन्दा बढी मूल्य घटिः तारागाउँ रिजेन्सी ७.१६, भगवती हाइड्रोपावर ७.१३, एसियन हाइड्रोपावर ५.१६, उन्नति सहकार्य लघुवित्त ४.७२ र आत्मनिर्भर लघुवित्त ४.६२ प्रतिशत घटेका छन् ।

आज सबैभन्दा धेरै कारोबार भएका पाँच कम्पनी/धितोपत्रमा नेपाल पुनर्बीमा, सिद्धार्थ बैंक डिबेन्चर ८९, युनियन हाइड्रोपावर, हिमालयन पावर पार्टनर र हिमालयन डिस्टिलरी रहेका छन् ।