Butwal Today

दोषी ठहरिए प्रचण्डलाई पनि जेल हाल्नुपर्छ : जेनजी रेडफोर्स संयोजक तिमिल्सिना

९ कार्तिक २०८२, आइतबार
अ+
अ-

काठमाडौँ ।

नेकपा (माओवादी केन्द्र) निकट जेनजी रेडफोर्सकी संयोजक स्मृति तिमिल्सिनाले माओवादी केन्द्रभित्र रहेको भ्रष्टाचार छानबिन गर्न सरकारसँग माग गरेकी छिन् । आइतबार जेनजी रेडफोर्सका एजेन्डा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले माओवादी केन्द्रमा पनि भ्रष्टाचार रहेको उल्लेख गर्दै सरकारले त्यसको छानबिन गर्नुपर्ने बताइन् ।

छानबिनका क्रममा दोषी देखिएमा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि जेल हाल्नुपर्ने उनको भनाइ छ । उनले भनिन्, “माओवादी केन्द्रमा भ्रष्टाचार नै छैन, भन्दिन म । भ्रष्टाचार छ, त्यो भ्रष्टाचारलाई यो सरकारले छानोस् । गल्ती देखिएको खण्डमा हाम्रो सुप्रिम कमाण्डरलाई पनि तपाईंहरूले जेल हाल्न सक्नुहुन्छ, यदि उहाँ दोषी देखिनुहुन्छ भने । रेडफोर्स भ्रष्टाचारविरुद्ध शंखनाद गरेर आवाज उठाउँछ । रेडफोर्सले देशका कुनै पनि भ्रष्टाचार सहने छैन ।”

जेनजी रेडफोर्सले पत्रकार सम्मेलनमार्फत देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था, विज्ञबाट मन्त्रिपरिषद् गठन, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, सबै प्रकारका भ्रष्टाचारको छानबिन गरी कारबाही, संवैधानिक निकाय तथा शैक्षिक क्षेत्रका नेतृत्व खुला प्रतिस्पर्धाबाट चयन, उच्चपदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन, सहकारी ठगीमा संलग्नहरूलाई कारबाही, र बन्द अवस्थामा रहेका उद्योग तथा कलकारखाना पुनः सञ्चालन गर्नुपर्ने माग अघि सारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?