© २०२३
काठमाडौँ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा थाइल्याण्ड र क्याम्बोडियाबीच आज मलेसियामा शान्ति सम्झौतामा हस्ताक्षर गरिएको छ ।
मलेसियाका प्रधानमन्त्री अन्वर इब्राहिमको उपस्थितिमा क्याम्बोडियाका प्रधानमन्त्री हुन मानेत र थाइल्याण्डका प्रधानमन्त्री अनुतीन चर्नभिराकुलले अमेरिकी राष्ट्रपति ट्रम्पसँगै सम्झौतामा हस्ताक्षर गर्नुभएको अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ ।
तीन महिनाअघि गएको जुलाईमा दुबै देशबीच सीमावर्ती विवादका कारण पाँच दिनसम्म चलेको द्वन्द्वमा २४ जना भन्दा धेरै सर्वसाधारणको ज्यान गएको थियो ।
राष्ट्रपति ट्रम्पले यो द्वन्द्व अन्त्य गराउन आफ्नो भूमिका निर्णायक रहेको दाबी गरे। उहाँले संयुक्त राष्ट्रसंघले यस्तो काम गर्नुपर्ने भए पनि अहिले अमेरिकाले नेतृत्व गरेको बताए ।
थाइल्याण्ड र क्याम्बोडियाबीचको ८ सय १७ किलोमिटर लामो विवादित सीमा क्षेत्र दशकौँदेखि तनावपूर्ण रहँदै आएको छ । गएको जुलाईमा थाइल्याण्डले क्याम्बोडियामा हवाई आक्रमण गरेको थियो भने क्याम्बोडियाले रकेट प्रहार गरी जवाफ दिएको थियो ।
ऐतिहासिक सम्झौतामा हस्ताक्षरपछि मलेसियाका प्रधानमन्त्री अन्वर इब्राहिमले दुबै पक्षलाई धन्यवाद दिँदै एशियामा स्थायित्व र सहअस्तित्वका लागि यो सम्झौता ऐतिहासिक मोड रहेको बताए ।
क्याम्बोडियाका प्रधानमन्त्री हुन मानेतले अमेरिकी राष्ट्रपति ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गर्ने घोषणा गर्नुभएको छ ।