Butwal Today

भोलिदेखि देशभर मौसम बदली, मंगलवारदेखि वर्षा र हिमपातको सम्भावना

९ कार्तिक २०८२, आइतबार
अ+
अ-

काठमान्डौ, ९ कार्तिक ।

भोलि (सोमबार) बेलुकादेखि देशभरको मौसम क्रमशः बदली हुने अनुमान गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको तीन दिने मौसमी बुलेटिनका अनुसार आगामी दिनहरूमा विभिन्न प्रदेशका पहाडी तथा हिमाली भू–भागमा वर्षा र हिमपात हुने सम्भावना छ ।

महाशाखाका अनुसार आज (आइतबार) कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । दिउँसो ती प्रदेशका हिमाली भागहरूमा छिटपुट वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ । राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ ।

भोलि छठ पर्वको मुख्य दिन देशभर आंशिक बदली रहने सम्भावना छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायतका पहाडी तथा हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्छ । बेलुकातिर देशका पश्चिमी भू–भागमा समेत बादल बढ्ने र तराईका क्षेत्रमा पनि आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

पर्सि (मंगलवार) दिउँसोदेखि गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायतका अधिकांश पहाडी क्षेत्रमा मौसम बदली रहनेछ । ती प्रदेशका केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना छ भने तराईका क्षेत्रमा पनि आंशिक बदली रहने अनुमान गरिएको छ । मंगलवार राति बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागमा बदली रही वर्षा–हिमपातको क्रम जारी रहनेछ ।

त्रिभुवन विश्वविद्यालयका जल तथा मौसम विज्ञान विभागका सह–प्राध्यापक तथा मौसमविद् विनोद पोखरेलका अनुसार मंगलवारदेखि देशभर वर्षा सुरु हुने र यो क्रम शुक्रबारसम्म जारी रहने सम्भावना छ । उनका अनुसार अहिले बंगालको खाडी र अरब सागरमा दुई वटा वर्षा प्रणाली सक्रिय भइरहेका छन्, जसको प्रभाव नेपालमा देखिनेछ ।

पोखरेलका अनुसार विशेषगरी पूर्वी नेपालमा बढी वर्षा हुने अनुमान छ भने अन्य क्षेत्रमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुने सम्भावना छ । उनले अहिले किसान धान काट्न व्यस्त रहेको सन्दर्भमा सावधानी अपनाउन आग्रह गर्दै भने, “मंगलवारदेखि पानी पर्न सक्ने भएकाले ४–५ दिनसम्म धान काट्ने वा भित्र्याउने काम नगर्नु नै उचित हुन्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?