© २०२३
काठमाडौँ ।
सहरी विकासमन्त्री कुलमान घिसिङले शनिबार (कात्तिक ८) सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको निरीक्षण गरेका छन् ।
आउँदो फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन तय भइसकेको छ । मन्त्रालयले नयाँ संसद् भवनबाट निर्वाचनपछिका कार्य सञ्चालन गर्न सक्ने गरी निर्माण तीव्र बनाउन निर्देशन दिएको छ ।
निरीक्षणपछि मन्त्री घिसिङले सञ्चारकर्मीसँग भने, पुरानो संसद् भवन ‘जेनजी’ आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भएकाले राष्ट्रियसभा र प्रतिनिधिसभा पनि फागुन २१ पछि सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको छ । उनले नयाँ भवन छिटो बनाउन नसकिने अवस्था सिर्जना भए धेरै असर पर्ने स्पष्ट पारेका छन् ।
निर्माण कम्पनीले आउँदो पुस १६ गतेसम्म सबै काम सकाउने दावी गरेको भए पनि, मन्त्री घिसिङका अनुसार त्यति बेलासम्म सबै काम पूरा गर्नु चुनौतीपूर्ण देखिन्छ ।
उनले कम्पनीलाई हरेक दिनको सेड्युल बनाइ काम गर्ने, दुई चरणमा काम गरी समयमै निर्माण सम्पन्न गर्ने र दुई दिनभित्र सेड्युल पेश गर्न निर्देशन दिएका छन् । आवश्यक साधनस्रोत र जनशक्ति खटाएर तीव्रता बढाउन पनि उनले निर्देशन दिए । समयमै काम सम्पन्न नभए जरिवाना लागू हुने चेतावनी पनि उनले दिएका छन् ।
अन्तरिम सरकारले फागुन २१ लाई प्रतिनिधिसभा सदस्य निर्वाचन मिति तोकेको छ । तर, राजनीतिक दलहरूले सरकार निर्वाचन गराउनेभन्दा भाँड्ने काममा लागेको भन्दै आपत्ति जनाइरहेका छन् । नेकपा (एमाले) संसद पुनर्स्थापना हुनुपर्ने भन्दै अदालत जाने तयारीमा रहेको छ ।