© २०२३
बुटवल, ३ पुस ।
साना तथा मझौला ढुवानी ब्यवसायी र स्वरोजगार मजदुरहरुका समस्या समाधानप्रति राज्यपक्ष गम्भीर नभएको सरोकारवालाले बताएका छन् । लुम्बिनी साना तथा मझौला ढुवानी व्यवसायी संघ प्रधान कार्यालय बुटवलको नवौं बार्षिक साधारण सभामा सहभागीहरुले राज्यले आफुहरुलाई उपेक्षा गरेको भन्दै चिन्ता ब्यक्त गरेका छन् ।
दुर्घटना न्यूनिकरण अभियान र दुर्घटना पश्चातको उपचार ब्यवस्था लगायतका बिषयमा संघले खेलेको भूमिकाको बारेमा चर्चा गर्दै कार्यक्रममा सहभागी वक्ताहरुले सवारी दुर्घटनाका कारण हुने धनजनको क्षति, हानी नोक्सानी, दायित्वको सिमा लगायतका विषयमा आ–आफ्नो धारणा ब्यक्त गरेका थिए ।
कार्यक्रममा संघका संस्थापक अध्यक्ष लक्ष्मण क्षेत्री, वर्तमान अध्यक्ष दिनेश थापा, सल्लाहकार मोहन पिएस, उपाध्यक्ष सुमन सापकोटा, कावा महासचिव रविन्द्रकुमार श्रेष्ठ, कोषाध्यक्ष नविन पोखरेल, एडमायर एजुकेशनल कन्सल्टेन्सीका संचालक ऋषिराम भुसाल लगायतले स्वरोजगार यातायात मजदुर र ढुवानी ब्यवसायीहरुको हकहित संरक्षणका लागि एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका थिए ।
वि.सं. २०७० सालमा स्थापना भएको सो संघले स्थापना कालदेखि नै विभिन्न सामाजिक गतिविधिहरु पनि गर्दै आएको छ । सामाजिक उत्तरदायित्व बहन गर्ने शिलशिलामा हरेक बर्ष वृद्धवृद्धाहरुलाई तीर्थ भ्रमण, दुर्घटनाबाट घाईते भएका बिरामीले ज्यान गुमाउनु नपरोस भनेर रक्तदान कार्यक्रम, वृद्धाश्रम र अनाथ आश्रममा खाद्यान्न वितरण, भुकम्प पीडित र बाढीपीडितलाई आर्थिक सहयोग आदि कार्यहरु गर्दै आएको छ ।
संघले विगतका वर्षमा जस्तै यसवर्ष पनि सामाजिक कार्य अन्तर्गत “रक्तदान जिवनदान” भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै रक्तदान कार्यक्रमको आयोजना गरेको छ । सो अवसरमा ३३ जना ब्यवसायी सदस्यहरु, चालक तथा मजदुर लगायतले रक्तदान गरेको रक्तदान कार्यक्रमका संयोजक संघका सदस्य सोमन कुमार तिमल्सिनाले बताए ।