इजरायलका अर्थमन्त्री बेजलेल स्मोट्रिचले साउदी अरबका मानिसहरू मरुभूमिमा उँट चराउनेबारे दिएको विवादास्पद अभिव्यक्तिका लागि माफी मागेका छन् ।
स्मोट्रिचले केही दिनअघि इजरायल र साउदी अरबबीच सम्भावित सम्बन्ध स्थापनाबारे टिप्पणी गर्दै भनेका थिए, “यदि साउदीले हामीसँग राम्रो सम्बन्ध राख्ने सट्टा अलग प्यालेस्टिनी राष्ट्र चाहन्छ भने हामीले त्यो स्वीकार गर्न सक्दैनौं ।”
त्यसपछि उनले व्यङ्ग्य गर्दै थपेका थिए, “साउदी अरब मरुभूमिमा उँटको सवारी गर्दै रहोस्, हामी हाम्रो अर्थतन्त्र, समाज र राष्ट्र निर्माणमा लागिरहन्छौं । हामी त्यही गर्छौं, जुन हामीले गर्न जानेका छौं ।”
उनको यस अभिव्यक्तिपछि अन्तर्राष्ट्रिय समुदाय र साउदी समर्थक समूहहरूले तीव्र आलोचना गरेका थिए । त्यसलगत्तै मन्त्री स्मोट्रिचले एक्स मार्फत भिडियो सन्देश जारी गर्दै माफी मागेका हुन् ।
उनले माफी सन्देशमा भनेका छन्, “साउदी अरबबारे मेरो टिप्पणी गलत थियो । यसबाट कसैलाई अपमान महसुस भएको भए म क्षमा चाहन्छु ।”
स्मोट्रिचले थपे,“म साउदी अरब हाम्रो साथमा वास्तविक शान्तिको पक्षमा काम गर्नेछ भन्नेमा विश्वास राख्छु ।”
मन्त्री बेजलेल स्मोट्रिच इजरायलका अति दक्षिणपन्थी नेतामध्ये एक हुन् । पेशाले अधिवक्ता रहेका उनी राष्ट्रिय धार्मिक पार्टी–धार्मिक जियोनिज्मका नेता हुन् ।
वेस्ट बैंकमा इजरायली बस्ती विस्तारका कट्टर समर्थक उनी प्यालेस्टिनी राज्यको अवधारणाको विरोधीका रूपमा चिनिन्छन् । उनका यस्ता टिप्पणीहरू प्रायः विवादमा आउने गरेका छन् ।