Butwal Today

दरबारमार्गबाट लुटिएको गोलीसहित २ किशोर पक्राउ

८ कार्तिक २०८२, शनिबार
अ+
अ-

काठमाडौं ।

जेनजी आन्दोलनका क्रममा दरबारमार्गबाट लुटिएको गोलीसहित दुई जना किशोर पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बर्दियाको बढैयाताल गाउँपालिका–३ का १७ वर्षीय अनिश गिरी र झापा झिलझिलेका १६ वर्षीय सोनम थापा मगर रहेका छन् । गिरी काठमाडौंको कपनमा र थापा मगर मालिगाउँ आनन्द भैरव मार्गमा बस्दै आएका थिए ।

प्रहरी प्रभाग कोटेश्वरको टोलीले शुक्रबार राति नरेफाँटमा नियमित चेकजाँचका क्रममा शंकास्पद अवस्थामा गिरीलाई नियन्त्रणमा लिएको थियो । थप अनुसन्धान गर्दा उनको साथमा प्रहरी वृत्त दरबारमार्गबाट लुटिएको ३ थान गोली फेला परेको प्रहरीले जनाएको छ ।

गिरीको बयानका आधारमा झापाका सोनम थापा मगरको कोठामा खोजी गर्दा “३११ २३” लेखिएको पेस्तोलका २ थान गोली पनि बरामद गरिएको छ ।

दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।