Butwal Today

कपिलवस्तुको नेपाल–भारत सीमामा सुन, चाँदी र नगदसहित एक व्यक्ति पक्राउ

६ कार्तिक २०८२, बिहीबार
अ+
अ-

कपिलवस्तु —

नेपाल–भारत सीमाक्षेत्र खुनुवामा शंकास्पद धातु तथा ठूलो परिमाणको नगदसहित एक व्यक्ति पक्राउ परेका छन्। भारततर्फबाट नेपाल प्रवेश गर्न लागेका डिएल १ सी एएच ३८२७ नम्बरको एर्टिगा कारलाई खुनुवा सीमा नजिकै बिहान करिब ७ः४० बजे एसएसबी टोलीले रोकेर जाँच गरेको थियो।

जाँचका क्रममा गाडीभित्र रहेको झोलामा पहेँलो र सेतो धातुका वस्तु फेला परेपछि झोला मालिकलाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्ने व्यक्ति रूपन्देहीको सैनामैना नगरपालिका–५ निवासी ५० वर्षीय नारायण प्रसाद घिमिरे रहेका छन्। उनलाई एसएसबी खुनुवा क्याम्प र स्थानीय प्रहरी चौकीले संयुक्त रूपमा नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रारम्भिक सोधपुछका क्रममा झोलामा भेटिएको सेतो धातुको तौल ५ किलो ९५ ग्राम रहेको र त्यसलाई चाँदीको रूपमा पहिचान गरिएको छ। त्यस्तै, पहेँलो धातुको तौल ५७.१४ ग्राम रहेको र सो धातु सुन हुन सक्ने अनुमान गरिएको प्रहरीले बताएको छ।

घिमिरेसँग भारतीय रुपैयाँ ५०० दरका ७५९ नोट र २०० दरका ४ नोट गरी जम्मा ३ लाख ८० हजार ३ सय रुपैयाँ बरामद भएको प्रहरीले जानकारी दिएको छ।

उक्त कार नयाँ दिल्लीको लाजपत नगर–सेक्टर जे–२२ निवासी गुणनिधि शर्माका छोरा राज शर्माको नाममा दर्ता गरिएको र घिमिरे आफ्नी बहिनीको घर बुटवल जाँदै गरेको बुझिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।