Butwal Today

म पनि कुनै बेलाको एमाले हुँ, एमालेबारे राम्रो जानकारी राख्छु – गृहमन्त्री अर्याल

५ कार्तिक २०८२, बुधबार
अ+
अ-

काठमान्डौ, ५ कार्तिक ।

प्रधानमन्त्री सुशीला कार्कीले मंगलबार साँझ बालुवाटारमा विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने २० दलका नेतासँग आगामी निर्वाचनबारे छलफल गरेकी छिन् ।

बैठकमा सहभागी दलहरूमा नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत, नागरिक उन्मुक्ति, नेमकिपा र एकीकृत समाजवादी लगायत रहेका थिए ।

छलफलका क्रममा गृहमन्त्री ओमप्रकाश अर्याल र एमाले महासचिव शंकर पोखरेलबीच तीव्र वाकयुद्ध भएको बैठकमा सहभागी एक नेताले बताएका छन् ।
गृहमन्त्री अर्यालले आफू एमालेको निशानामा परेको र राजनीतिक प्रतिशोधको शिकार भएको बताएका थिए । तर पोखरेलले “गृहमन्त्रीले पदीय जिम्मेवारीअनुरूप काम नगरेको” भन्दै प्रत्युत्तर दिएका थिए ।

पोखरेलले गृहमन्त्रीका ‘पकडिहाल्ने’ जस्ता अभिव्यक्ति अत्यधिक र गैरजिम्मेवार भएको टिप्पणी गरे भने अर्यालले “म पनि २०४७ पछिको एमाले हुँ, त्यसबेलाको एमालेको शैली अहिलेको जस्तो थर्काउने होइन” भन्दै जवाफ दिएका थिए ।

अर्यालले केही राजनीतिक दलका नेताहरूबाटै सुरक्षा चुनौती उत्पन्न भएको आरोप लगाउँदै भक्तपुरबाट दुर्गा प्रसाईं र महेश बस्नेतका गतिविधिले अस्थिरता बढाएको दाबी गरे ।

प्रधानमन्त्री कार्की बैठकमा पहिलाभन्दा धेरै संयमित देखिएकी र निर्वाचन गराउनेतर्फ पूर्ण रूपमा प्रतिबद्ध रहेको नेताहरूले बताएका छन् ।
उनले भनिन्, “चुनावमा मुख्य स्टेकहोल्डर राजनीतिक दलहरू हुन् । सरकार निर्वाचन सम्पन्न गर्न दृढ छ ।”

एमालेले बैठकमा प्रतिनिधिसभा पुनर्स्थापना गर्नुपर्ने धारणा राखेको थियो भने अन्य केही दलले निर्वाचन समयमै गर्नुपर्नेमा जोड दिए ।

नेताहरूको मुख्य चिन्ता शान्ति सुरक्षा र निर्वाचन वातावरणमा केन्द्रित रह्यो । कांग्रेस र एमालेका नेताहरूले गृहमन्त्री अर्यालको ‘थुनेकालाई छाड्नुपर्छ’ भन्ने अभिव्यक्तिको आलोचना गर्दै त्यो कानूनविपरीत र सुरक्षा संयन्त्र कमजोर पार्ने कदम भएको बताए ।

गृहमन्त्री अर्यालले भने सरकार सुशासन र शान्ति सुरक्षाको दायित्व पूरा गर्न प्रतिबद्ध रहेको स्पष्ट पारे ।