Butwal Today

विद्युतले ४ सिमेन्ट कम्पनीको बिजुलीको लाइन काट्यो

४ कार्तिक २०८२, मंगलवार
अ+
अ-

दाङ,४ कार्तिक ।

नेपाल विद्युत् प्राधिकरणले चार कम्पनीको बिजुलीको लाइन काटेको छ । प्राधिकरणले घोराही सिमेन्ट (दाङ), अर्घाखाँची सिमेन्ट (लुम्बिनी), त्रिवेणी स्पिनिङ (परवानीपुर) र जगदम्बा स्टील (अमलेखगञ्ज)को बिजुलीको लाइन काटेको हो ।

यी कम्पनीहरूमा आज बिहान ६:२० बजेदेखि ७ बजेको बिचमा लाइन काटिएको हो । बिजुलीको बक्यौता  बापतको रकम नतिरेकाले लाइन काटेको प्राधिकरणको भनाइ छ ।

जगदम्बाको १ अर्ब ६० करोड, घोराही सिमेन्टको ५० करोड ८५ लाख, अर्घाखाँचीको ४४ करोड ८४ लाख र त्रिवेणीको ३२ करोड १० लाख रुपैयाँ रहेको छ । यो बक्यौता २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको थप महसुल बापतको हो ।

डेडिकेटेड तथा ट्रंक लाइन विवाद कायमै रहेका बेला नेपाल विद्युत् प्राधिकरणले त्यस बाफतको बक्यौता भुक्तानी गर्न अन्तिम पटकका लागि भन्दै २१ दिनको अल्टिमेटम दिएको थियो । अल्टिमेटम सकिएसँगै प्राधिकरणले उद्योगहरूको लाइन काट्न सुरु गरेको हो ।