© २०२३
काठमान्डौ, २ कार्तिक ।
नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर नेताहरूले अहिलेको केन्द्रीय समितिको म्याद थप्न नहुने स्पष्ट चेतावनी दिएका छन् । केन्द्रीय सदस्य गुरु घिमिरे र मनोजमणि आचार्यलगायत नेताहरूले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पार्टी नेतृत्वले म्याद थप्ने तयारी गरेको आशंका व्यक्त गर्दै त्यसो गर्नु पार्टीको विधानविपरीत हुने बताएका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै आचार्यले कांग्रेस नेतृत्वले समयमा नियमित महाधिवेशन नगरी केन्द्रीय कार्यसमितिको बैठक अनावश्यक रूपमा लम्ब्याएको आरोप लगाए । उनका अनुसार असोज २८ गते प्रारम्भ भएको बैठक बिना कारण ढिला पारिएको र आगामी बैठक पनि छठपछिमात्र, अर्थात् कात्तिक १३ पछि बोलाइएकाले यसले पार्टी नेतृत्वको नियतप्रति प्रश्न उठाएको छ ।
उनले भने, “वर्तमान कार्यसमितिको मनसाय नै समयमा महाधिवेशन नगरी म्याद थप्नेतर्फ उन्मुख देखिन्छ । यस्तो प्रवृत्ति आपत्तिजनक र लोकतान्त्रिक मूल्यका विरुद्ध छ ।”
नेता आचार्यले राष्ट्रिय राजनीति तीव्र गतिमा अघि बढिरहेको सन्दर्भमा कांग्रेसजस्तो ठुलो पार्टीले ढिलाइ र अनिर्णयमा समय खर्च गर्न नहुने बताए । उनका अनुसार आगामी फागुन २१ गतेका लागि नेपाल सरकारले तोकेको प्रतिनिधि सभाको निर्वाचनअघि नै पार्टीको नयाँ नेतृत्व चयन भईसक्न आवश्यक छ ।
“चुनावको पूर्वसन्ध्यामा कांग्रेसले नयाँ ऊर्जासहित अघि बढ्न विशेष महाधिवेशन अपरिहार्य छ,” उनले भने, “यो राष्ट्रिय आवश्यकता हो, विकल्प छैन । त्यसैले यो मागलाई पार्टी नेतृत्वले गम्भीरतापूर्वक लिएर कार्यान्वयनतर्फ अग्रसर हुनुपर्छ ।”
विशेष महाधिवेशन पक्षधर नेताहरूले पार्टीको आन्तरिक लोकतन्त्र सुदृढ पार्न र संगठनलाई सक्रिय बनाउन यही उचित समय रहेको दाबी गरेका छन् ।