© २०२३
गुल्मी, ०१ कात्तिक ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले आफ्नै भवनबाट सेवा प्रवाह गर्न सुरु गरेको छ । ट्राफिक प्रहरीको आफ्नो भवन नभएका कारण विगत दुई दशकदेखि कार्यालय भाडामा लिएर सेवा प्रवाह गर्दै आइरहेको थियो ।
अहिले सदरमुकाम तम्घासको पुरानो बजार र बुढाथोकी बसपार्कको बिचमा ट्राफिक कार्यालयको आफ्नै भवन निर्माण भएको छ । भवनको अभावमा २०६३ सालदेखि विभिन्न सरकारी तथा व्यक्तिगत घरहरू भाडामा लिएर बस्दै आएको थियो ।
नयाँ भवन निर्माण भएसँगै असोजको दोस्रो सातादेखि आफ्नै भवनबाट कार्यालय सञ्चालन भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख एवं प्रहरी नायव निरीक्षक ज्ञान बहादुर कुँवरले बताए ।
रेसुङ्गा नगरपालिकाको २७ लाख रुपैयाँ, सङ्घीय बजेट १० लाख एवं जिल्ला स्थित केही पालिकाहरूबाट रु. ३ लाख गरी कुल ४० लाखको लागतमा उक्त भवन निर्माण सम्पन्न भएको रेसुङ्गा नगरपालिका योजना शाखा प्रमुख विनोद मरासिनीले जानकारी गराएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका ट्राफिक प्रमुख ज्ञान बहादुर कुँवरका अनुसार अहिले भवनमा रंगरोगन, कम्पाउन्ड र फर्निसिङ्को काम भैरहेको हुँदा पहिलो तलाबाट कार्यालय सञ्चालनको काम भइरहेको बताइएको छ ।
ट्राफिक प्रहरी कार्यालय भवन नहुँदा यसअघि भगवती मन्दिर, जिल्ला प्रहरी कार्यालय हुँदै २०७७ सालबाट ०८२ सम्म बसपार्कमा कार्यालय भाडामा लिएर बस्दै आएको थियो । ट्राफिक प्रहरी कार्यालय गुल्मीमा हाल सात जनाको मात्र दरबन्दी रहेको छ ।
जिल्लाभर विभिन्न प्रहरी चौकीमा गरी १८ जना ट्राफिक प्रहरी कार्यरत छन् । १८ जना मध्ये सदरमुकाम तम्घासमा पाँच जना, रिडीमा तीन जना, श्रृङ्गामा, वामीटक्सार र जोहाङ् खैरेनीमा दुई/दुई जना तथा पुर्तिघाट, शान्तिपुर, धनार्जी र पुर्कोटदहमा एक/एक जना ट्राफिक प्रहरी कार्यरत रहेको प्रहरी नायव निरीक्षक कुँवरले बताए ।
उनले यसअघि आफ्नै भवन नहुँदा सवारी साधनहरूको जाँचबुझको क्रममा कार्वाहीमा परेका कतिपय सवारी साधनहरू राख्न निकै समस्या परेको भन्दै अब आफ्नै भवन भएपछि ठुलो राहत मिलेको बताएका छन् ।
कुँवरले भवन निर्माणसँगै सेवाको गुणस्तरमा सुधार आउने विश्वास व्यक्त गरे । ट्राफिक प्रहरी कार्यालय गुल्मीले जिल्लामा दुर्घटना न्यूनीकरणका समय समयमा विद्यालय र समुदाय स्तरमा जनचेतना र सचेतनामूलक कार्यक्रमहरू समेत सञ्चालन गर्दै आइरहेको छ ।