© 2026
काठमाडौं, ३१ असोज ।
नेपाली सेनाले सर्वोच्च अदालतमा लागेको आगो ‘जेन–जी आन्दोलनको भोलिपल्टै’ निभिसकेको दाबी गरेको छ । गत २३ भदौमा भएको जेन–जी आन्दोलन र त्यसको भोलिपल्ट भएका घटनाक्रमबारे जानकारी दिन शुक्रबार नेपाली सेनाले आयोजना गरेको पत्रकार सम्मेलनमा एकजना सेनाका उच्च अधिकारीले यस्तो दाबी गरेका हुन् ।
उनले भने, “सर्वोच्च अदालतको आगो भोलिपल्टै निभाइएको हो । तेस्रो दिन ललितपुरबाट दमकल आएर निभाइएको भन्ने समाचार पनि आएका छन् । म त्यतातिर खण्डन गर्न चाहन्नँ, तर वास्तविकता यो हो कि आगो दोस्रो दिनमै निभाइएको थियो ।”
उनले थप प्रस्ट्याउँदै भने, “मध्यराति १२ बजे ललितपुरको एउटा काष्ट उद्योगमा आगो निभाइरहेको थाहा पाएपछि त्यहाँको गणपतिलाई फोन गरेर तुरुन्त सर्वोच्च अदालततिर पठाएको हुँ । सिंहदरबार, सर्वोच्चजस्ता महत्त्वपूर्ण स्थानमा आगो लागिरहेका बेला प्राथमिकता त्यहीँ दिनुपर्ने देखियो ।”
उनका अनुसार, काठमाडौंमा उपलब्ध १८ वटा दमकलमध्ये ११/१२ वटा मात्र प्रयोग गर्न सकिएको थियो । “अरू दमकलहरू विभिन्न कारणले चल्न सकेनन् । एयरपोर्टका दमकलहरू आफ्नै प्रावधानअनुसार सञ्चालन हुन्छन्, तर ती पनि अनुरोधपछि प्रयोग गरियो,” उनले भने ।
पत्रकारहरूको प्रश्नमा उनले थपे, “हामीले सम्भव भएजति छिटो आगो नियन्त्रण गर्न प्रयास गरेका थियौं । जुन किसिमको आगलागी थियो, त्यसअनुसार उपलब्ध दमकलमार्फत छिटो र प्रभावकारी रूपमा नियन्त्रण गरिएको हो ।”
यस्तै, हिल्टन होटलमा लागेको आगोबारे उनले भने, “त्यहाँ आगो अग्लो तल्लामा थियो । दमकलमा त्यति अग्लो भर्याङ नभएकाले चौथो दिनसम्म आगो निभाउन समय लागेको हो ।”