Butwal Today

प्रधानमन्त्रीको ब्रिफिङ : भ्रष्टाचारीमाथि कारबाहीका लागि फाइलहरू खोलिएको छ

३१ आश्विन २०८२, शुक्रबार
अ+
अ-

 काठमाडौं, ३१ असोज ।

प्रधानमन्त्री सुशीला कार्कीले देशमा जरो गाडेर फैलिएको भ्रष्टाचारविरुद्ध कडा कदम चाल्दै अभियोग चलाउन फाइलहरू खोलिएको जानकारी दिएकी छिन् ।

शुक्रबार विभिन्न कूटनीतिक निकायका प्रमुख तथा राजदूतहरूलाई दिइएको ब्रिफिङका क्रममा उनले यस्तो बताएकी हुन् । प्रधानमन्त्री कार्कीले भनिन्, “हामीले पारदर्शिता प्रवर्द्धन गर्न तथा सार्वजनिक कोषको दुरुपयोग रोक्न राष्ट्रिय बजेटमा संशोधन गरेका छौं । साथै, व्यापक रूपमा फैलिएको भ्रष्टाचार र भ्रष्टाचारीमाथि कारबाही गर्न फाइलहरू खोलेका छौं ।”

उनले वर्तमान सरकारले जवाफदेहिता सुनिश्चित गर्नका लागि तत्कालीन कदमहरू चालिरहेको पनि स्पष्ट पारेकी छिन् । प्रधानमन्त्री कार्कीले नेपालले संयुक्त राष्ट्रसंघीय शान्ति स्थापनाका कार्यहरूमा सबैभन्दा बढी फौज पठाउने देश भएकोमा गर्व व्यक्त गरिन् ।

“यो विश्व शान्तिमा हाम्रो सामान्य तर अर्थपूर्ण योगदान हो,” उनले भनिन् ।