© २०२३
बुटवल, २ पुस ।
बुटवलमा पुस ७ गते देखि हुन लागेको १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी स्वदेशी उत्पादन केन्द्रित हुने भएको छ । रुपन्देही उद्योग संघले स्वदेशी उत्पादनलाई मात्रै प्रदर्शनीमा स्थान दिएको संघका अध्यक्ष माधवप्रसाद पौडेलले जानकारी दिए ।
“हामी विदेशी उत्पादनलाई प्रदर्शनीमा भित्र्याउँदैनौं, स्वदेशी उत्पादनका स्टलहरु मात्र सहभागी हुनेछन्”–उनले भने । संघले औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव– २०७९ को तयारी पुरा भएको जानकारी गराएको छ ।
सम्मृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार भन्ने मूल नाराका साथ सुरु हुन लागेको महोत्सवको तयारी पुरा भएको शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
बुटवल मण्डपमा निर्माणाधीन आधुनिक प्रदर्शनी स्थलमा नयां व्यवस्थापन र संरचनामा पहिलो पटक हुन लागेको महोत्सव पुस १९ गते सम्म चल्नेछ । नेपाल उद्योग परिसंघ समेत आयोजना रहेको महोत्सवमा स्वदेशी उत्पादन, नयाँ प्रविधि, पर्यटन तथा कृषि उत्पादनको सहभागिताका लागि छुट्टाछुट्टै १० वटा पेभिलियनको व्यवस्था गरिएको छ ।
रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेलले महोत्सवमा स्वदेशी उद्योगका उत्पादन मात्रै प्रदर्शन गरिने र तिनको बजारीकरण गर्दै उपभोक्तामा स्वदेशी उत्पादन प्रयोग गर्नुपर्छ भन्ने भावनाको विकास गराउने उद्देश्यका साथ महोत्सवको आयोजना गर्न लागिएको बताए ।
पौडेलले यस पटकको प्रदर्शनीमा नेपाल उद्योग परिसंघले थालेको मेकिङ नेपाल अभियानलाई प्राथमिकताका साथ अगाडि सारिएको बताए । महोत्सवमा स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्न स्वदेशी उत्पादन मात्र समावेश गरिने आयोजकको दावी छ ।
प्रदर्शनीमा औद्योगिक प्रविधि, रेष्टुरेन्ट, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, आइटी लगायतका करिव ४५० स्टलहरु रहनेछन् । प्रदर्शनीलाई मनोरञ्जनात्मक बनाउन लोक दोहोरी प्रतियोगिता, नेपालका ख्याति प्राप्त आधुनिक गायक गायिका, हास्य कलाकार, स्थानीय कलाकारहरुको प्रस्तुती, सांगितिक कार्यक्रम, विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, कलेज स्तरीय अन्तर कलेज वक्तृत्वकला प्रतियोगिता, लोक भजन प्रतियोगिता, प्रदर्शनी आइडल रहने आयोजकले बताएको छ ।
महोत्सवलाई सम्पन्न गर्न अध्यक्ष पौडेलेको संयोजकत्वमा १०१ सदस्यीय मूल समिति, ५१ सदस्यीय विशेष सल्लाहाकार समिति, २५१ सदस्यीय सल्लाहकार समिति, निवर्तमान अध्यक्षको संयोजकत्वमा विशेष मूल्यांकन समिति, ३० वटा विभिन्न उपसमितिहरु गठन गरिएको छ ।
महोत्सवमा करिव ७ लाख दर्शकले अवलोकन गर्ने र २५ करोडको कारोवार हुने अनुमान आयोजको छ । २०४५ सालमा पहिलो पटक र २०५३ सालदेखि निरन्तर औद्योगिक प्रदर्शनी संघले आयोजना गर्दै आइरहेको छ ।