© 2026
काठमाडौं, ३० असोज ।
नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पाले संकटको घडीमा पार्टी नेतृत्वमाथि प्रहार गर्ने सचिवालयका नेताहरूलाई कारबाही गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।
ललितपुरमा जारी पार्टीको केन्द्रीय कमिटी बैठकमा आफ्ना धारणा राख्दै उनले पार्टीभित्रै भाँडभैलो मच्चाउने र मिडियामा अभिव्यक्ति दिँदै हिँड्ने सचिवालयका नेताहरूलाई कारबाही हुनुपर्ने सुझाव दिएका हुन् ।
‘जेनजी आन्दोलनको अवसर पारी संकटको घडीमा मुल नेतृत्वलाई प्रहार गरी पार्टीभित्र भाँडभैलो मच्चाउन खोज्ने, विभिन्न मिडियामा त्यस्ता अभिव्यक्ति दिने सचिवालयका नेताहरूलाई यो बैठकले कारबाही गरिनु पर्दछ भन्ने मेरो प्रस्ताव छ,’ उनले भने ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई हटाउनुपर्ने विदेशी खुफियाहरूको एजेन्डा भएको पनि उनले उल्लेख गरे ।
‘केपी ओलीलाई हटाउनु पर्छ भन्ने एजेन्डा विदेशी खुफियाहरुको हो । त्यसलाई कार्यन्वयन गर्ने नेपाली कारिन्दाहरू प्रचण्ड, रवि, बालेन र दुर्गा प्रसाईं हुन्,’ उनले बैठकमा भने, ‘हाम्रो केही नेताहरूले यिनीहरूको एजेन्डा बोकेर पार्टीको महत्वपूर्ण पदमा रहेर दुश्मनका योजना पुरा गर्न लागेका छन् । यस्तो गतिविधि संगठनका लागि गम्भीर अपराध हो र यसको निर्मम समीक्षा हुनुपर्छ ।’
देश गम्भीर अवस्थामा छ र यस्तो बेला ओलीले नै पार्टीको नेतृत्व लिनुपर्ने उनको भनाइ थियो ।
‘यो आवश्यकतालाई मूर्त रूप दिन आगामी महाधिवेशनमा कमरेड केपी शर्मा ओलीकै निर्विकल्प नेतृत्वमा नेकपा (एमाले) लाई अघि बढाउने प्रस्ताव लिएर जानु पर्दछ भन्ने मेरो प्रस्ताव छ,’ उनले बैठकमा प्रस्ताव राखे ।