Butwal Today

एक वर्षकै न्यूनतम स्तरमा सेयर बजार, नेप्से २५ सय अंकभन्दा तल

३० आश्विन २०८२, बिहीबार
अ+
अ-

समाचार सारांशमा


  • बिहीबार सेयर बजार १८.४० अंकले घटेर नेप्से २४८७ अंकमा झरेको छ ।

  • यो स्तर गत वर्षको असोज १३ यताकै सबैभन्दा न्यून विन्दु हो ।

  • आज ४५ कम्पनीको मूल्य बढ्दा १९७ कम्पनीको मूल्य घटेको छ, ९ कम्पनीको मूल्य स्थिर छ ।


काठमाडौं, ३० असोज ।

 बिहीबार सेयर बजार १८.४० अंकले घटेको छ । सो घटासँगै नेप्से परिसूचक २,४८७ अंकमा झरेको छ ।

बजार बन्द हुँदा नेप्से सूचक गत वर्षको असोज १३ यताकै सबैभन्दा न्यून विन्दुमा पुगेको हो । पछिल्ला केही दिनदेखि बजार निरन्तर ओरालो लागेको छ । आज ४५ कम्पनीको सेयर मूल्य बढ्दा १९७ कम्पनीको घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।

कारोबार रकम भने केही वृद्धि भएको छ । अघिल्लो दिन ३ अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज त्यो बढेर ३ अर्ब २७ करोड रुपैयाँ पुगेको छ ।

समूहगत सूचकहरूमध्ये बैंकिङ समूह ०.०२ प्रतिशतले बढेको छ । अन्य सबै समूह घटेका छन् । विकास बैंक १.१५, फाइनान्स १.२८, जलविद्युत १.०३, लगानी ०.४९, जीवन बीमा ०.८९, उत्पादन तथा प्रशोधन ०.७३, लघुवित्त ०.७३, निर्जीवन बीमा ०.५३, अन्य समूह २.२१ र व्यापार समूह ०.३९ प्रतिशतले घटेका छन् ।

आज सबैभन्दा धेरै वृद्धि भएको कम्पनी हिमालयन पावर पार्टनर हो, जसको सेयर मूल्य ९.९३ प्रतिशतले बढेको छ । त्यसपछि कालिका लघुवित्तको ५.६९, इनिफिनिटी लघुवित्तको ३.८९, र सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्सको ३.७९ प्रतिशतले मूल्य बढेको छ ।

विपरीत, सबैभन्दा धेरै मूल्य घट्ने कम्पनी समाज लघुवित्त हो, जसको सेयर मूल्य १० प्रतिशतले घटेको छ । यस्तै, युनिक नेपाल लघुवित्तको ७.३३, समता घरेलु लघुवित्तको ६.२५, अपर स्याङ्गेको ४.८७ र नेपाल पुनर्बीमाको ४.२१ प्रतिशतले मूल्य घटेको छ ।

आज धेरै कारोबार भएका प्रमुख कम्पनीहरूमा मुक्तिनाथ विकास बैंक, नेपाल पुनर्बीमा, शिवम् सिमेन्ट, एनआरएन इन्फ्रास्ट्रक्चर र हिमालयन रिइन्स्योरेन्स रहेका छन् ।