© 2026
काठमान्डौ, २९ असोज ।
नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ मा भएको विध्वंसात्मक घटना हुनुअघि नै जानकारी रहेको तर रोक्न नसकेको बताएका छन् ।
एमालेको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले यसअघि पनि यस्ता घटनाको प्रयास पटक–पटक भइरहेको चर्चा गरे ।
ओलीले भने, “यत्रो घटना हुँदा पनि कसरी थाहा भएन भन्नुहुन्छ साथीहरु । पहिलेदेखि नै थाहा थियो । चैत १५ गते यस्तै घटना गराउन खोजिएको थियो । उनीहरूको प्रयास निरन्तर भइरहेको थियो र सधैं रोक्ने गरिएको थियो । यसपटक रोक्न सकिएन, थाहा नभएको होइन ।”
जेनजी आन्दोलनको दोस्रो दिन, भदौ २४ मा ओली प्रधानमन्त्रीको पदबाट राजीनामा दिन बाध्य भएका थिए । उनले यस आन्दोलनलाई विध्वंसात्मक र सरकारसँग नजोडिने प्रवृत्ति भएको उल्लेख गर्दै प्रतिगामीहरूले षड्यन्त्र गरेको बताए ।
ओलीले थपे, “जेन–जीकै अगुवाहरु अहिले पनि भन्छन्, संसद् विघटन र सरकार ढाल्ने माग हाम्रो थिएन । आन्दोलनको पहिलो दिनदेखि नै आन्दोलन हाइज्याक भएको थियो भन्ने उनीहरूको भनाइ आउँदैछ । वास्तविकता यही हो ।”