© 2026
काठमान्डौ, २९ असोज ।
सभामुख देवराज घिमिरेले संसद् पुनर्स्थापनाको मागसँग सम्बन्धित धारणा तय गर्नका लागि बोलाएको सर्वदलीय बैठकमा चार राजनीतिक दल सहभागी भएका छैनन् ।
सभामुख घिमिरेले विघटित प्रतिनिधि सभामा रहेका सबै दलका नेताहरूलाई सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा छलफलका लागि आह्वान गरेका थिए । तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) का नेताहरू बैठकमा उपस्थित भएनन् ।
हाल बैठकमा नेपाली कांग्रेसका श्यामकुमार घिमिरे, नेकपा एमालेका महेश बर्तौला, नेकपा माओवादी केन्द्रका हितराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का ज्ञानेन्द्र शाही, नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र जसपा नेपालकी नेतृ रेखा यादव सहभागी छन् ।
संसद् विघटनपछि उत्पन्न संवैधानिक जटिलतालाई समाधान गर्न सभामुखले अदालत जानु उपयुक्त हुन्छ वा हुँदैन भन्ने विषयमा साझा धारणा बनाउन बैठक आह्वान गरिएको हो । बैठकमा सहभागी दलका नेताहरूबीच संसद् पुनर्स्थापनाको आवश्यकता र सम्भावित कानुनी प्रक्रियाबारे छलफल भइरहेको स्रोतले जनाएको छ ।