काठमाडौँ ।
विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गरेको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध आज चलेको थुनछेक बहस भोलि पनि चल्ने भएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासमा सुरुमा बकपत्र लिइएको थियो भने त्यसपछि थुनछेक सम्बन्धी बहस गरिएको थियो । तर, बहस नसकिएपछि महरालाई पुनः हिरासतमा नै राखिएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई आइतबार पक्राउ गरेको थियो । सोमबार अभियोगपत्रसहित उनलाई अदालतमा उपस्थित गराइएको थियो ।
महराविरुद्ध भन्सार छली र संगठित अपराधको कसुरमा मुद्दा दर्ता गरिएको छ । उनलाई यसअघि २०८० साल चैत ५ गते पनि सोही प्रकरणमा बयानका लागि बोलाइएको थियो ।
२०७९ पुस १० गते फ्लाई दुबईको जहाजमार्फत नेपाल आएका चिनियाँ नागरिक लि हानसोङले दुई वटा सुटकेसभित्र ७३ बट्टामा राखिएका ७३० थान विद्युतीय चुरोट (भेप) मार्फत सुन ल्याएको खुलेको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल ल्याइएको उक्त सुन भन्सार कार्यालयका कर्मचारीहरूकै मिलेमतोमा बाहिरिएको अनुसन्धानमा देखिएको छ ।
प्रारम्भमा भन्सारले उक्त सुन नियन्त्रणमा लिए पनि पछि चिनियाँ नागरिकसँगको मिलेमतोमा पूर्वसभामुख महरा र उनका छोरा राहुल महराको संलग्नता रहेको प्रहरीको भनाइ छ ।
यसअघि भन्सारका कर्मचारीविरुद्ध मुद्दा दर्ता भइसकेको छ भने चिनियाँ तस्करसँग महरा र उनका छोराको मिलेमतो देखिए पनि प्रारम्भिक चरणमा महरालाई प्रतिवादी बनाइएको थिएन ।
हाल भने उनीविरुद्ध सिधै मुद्दा दर्ता गरी अदालती प्रक्रिया अघि बढाइएको छ ।