Butwal Today

‘नेतृत्व सुध्रिएन भने जनमत टिक्दैन’ — मुख्यमन्त्री सिंह

२८ आश्विन २०८२, मंगलवार
अ+
अ-

काठमाडौँ ।

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनमत पार्टीमा आन्तरिक लोकतन्त्र कमजोर भएको भन्दै यस्तै प्रवृत्ति कायम रहे पार्टीको पतन हुने चेतावनी दिएका छन् ।

प्रदेशसभा बैठकमा राजीनामा घोषणा गर्नुअघि सम्बोधन गर्दै उनले पार्टीले गरेको असहयोग र नेतृत्वका निर्णयहरूप्रति कडा असन्तुष्टि जनाए ।

उनले भने, ‘मलाई एक वचन पनि नसोधीकन सरकारबाट समर्थन फिर्ता लिएको पत्र सामाजिक सञ्जालमा छ्यापछ्याप्ति बनाइयो । त्यो पत्र मेरो विरुद्ध प्रपञ्च रच्‍ने भाष्यको एउटा अध्याय थियो ।’

मुख्यमन्त्री सिंहले जनमत पार्टीको केन्द्रीय नेतृत्व र प्रदेश संसदीय दलका नेताले गरेका एकल निर्णयप्रति पनि गम्भीर आपत्ति जनाए । उनले उल्लेख गरे, ‘म मुख्यमन्त्री भएपछि पार्टीकै निर्देशनमा राज्य मन्त्री नियुक्त गरेँ र पार्टीकै निर्देशनमा हटाएँ ।

तर त्यस विषयमा आफ्नै गल्ती ढाकछोप गर्न पार्टी र नेतृत्वले मलाई स्पष्टीकरण सोधी मेरो चरित्र हत्या गर्‍यो ।’ बजेट निर्माण प्रक्रियामा देखिएको अनियमितताप्रति पनि उनले पार्टी नेतृत्वलाई आरोप लगाए । सिंहले भने, ‘मैले पर्यटन मन्त्रालयमा बजेटलाई टुक्रा–टुक्रा पारेर ५/५ लाखका योजना राखिएको जानकारी पार्टी अध्यक्ष राउतलाई गराएँ ।

तर उल्टै मलाई आरोप लगाइयो र ती बजेट राख्‍नेहरूलाई प्रोत्साहन गरियो । त्यसैले स्पष्ट हुन्छ, टुक्रे बजेट कसको निर्देशनमा राखियो ।’