Butwal Today

भाइटीकाको उत्तम साइत ११ बजेर ३९ मिनेटमा

२८ आश्विन २०८२, मंगलवार
अ+
अ-

काठमान्डौ, २८ असोज ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीका लागि सर्वोत्तम साइत सार्वजनिक गरेको छ । समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार कात्तिक ६ गते बिहीबार बिहान ११ बजेर ३९ मिनेट भाइटीकाको साइत अत्यन्त शुभ रहेको छ ।

समितिका सदस्य प्रा. देवमणि भट्टराईका अनुसार, मध्याह्नकालमा टीका लगाउन कुनै बाधा नपरे पनि धनु लग्न, कन्या नवमांश, चर बेला, अभिजित योग र विजय मुहूर्तको शुभ साइत रहेको छ ।

यस वर्षको यमपञ्चक कात्तिक १ गते शनिवारदेखि सुरु हुँदै यमदीप दान शुरू हुनेछ । त्यही दिन धन त्रयोदशी र धनतेरस पनि पर्नेछ ।

कात्तिक २ गते आइतवार काग तिहार परेको छ । यसै दिन धनवन्तरी जयन्ती पर्व पनि मनाइन्छ ।

कात्तिक ३ गते सोमवार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ । यसै दिन साँझ दीपमालिका गरिन्छ ।

कात्तिक ३ गते दिउँसो २ बजेर ५२ मिनेटसम्म कात्तिक कृष्ण चतुर्दशी र त्यसपछि औँशी तिथि लाग्ने भएकाले त्यसै अनुसार पर्वसम्बन्धी निर्णय गरिएको समितिले जनाएको छ । औँशी तिथिमा गरिने स्नान, दान भने कात्तिक ४ गते मङ्गलवार बिहान गर्नुपर्नेछ ।

कात्तिक ४ गते दिउँसो ४ बजेर २९ मिनेटसम्म औँशी तिथि रहेको समितिले जनाएको छ ।

गाई, गोरु र आत्म (म्ह) पूजा भने कात्तिक ५ गते बुधवार हुनेछ । आत्म (म्ह) पूजा विशेषगरी नेवार समुदायले गर्ने परम्परा छ । यसै दिन यस वर्ष नेपाल संवत् अनुसार नयाँ वर्ष मनाउनुपर्ने समितिले जनाएको छ ।

प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचन अनुसार यस्तो निर्णय गरिएको अध्यक्ष ढकालले बताए । यसै दिनदेखि नेपाल संवत् ११४६ शुरू हुन्छ । भाइपूजा र किजापूजा पनि कात्तिक ६ गते मनाइनेछ ।

शास्त्रीय ग्रन्थमा भ्रातृपूजा भन्ने शब्द उल्लेख गरिएको र त्यस शब्दले दाजुभाइ दुवैलाई बुझाउँछ । भाइटीका भनिए पनि ज्येष्ठको क्रमानुसार नै दाजुभाइलाई टीकाटाला गर्नु शास्त्रसम्मत हुने समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?