Butwal Today

हर्क साम्पाङसहित तीन नयाँ दललाई निर्वाचन आयोगले माग्यो थप कागजात

२८ आश्विन २०८२, मंगलवार
अ+
अ-

काठमान्डौ, २८ असोज ।

दल दर्ताका लागि निवेदन दिएका हर्क साम्पाङसहित तीन नयाँ राजनीतिक दलसँग निर्वाचन आयोगले थप कागजात मागेको छ । आयोगका अनुसार हाल चार नयाँ दल दर्ताका लागि निवेदन पुगेका छन्, जसमा साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी, उज्यालो नेपाल पार्टी, र नेपाल नागरिक पार्टीसँग आवश्यक कागजात अपूर्ण रहेको कारण थप विवरण माग गरिएको हो ।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५ अनुसार दल दर्ताका लागि विधान, झण्डा, चिन्हको नमुना, कम्तीमा पाँच सय मतदाताको सदस्यता प्रतिबद्धता पत्र र उनीहरूको नागरिकता वा मतदाता परिचयपत्रको प्रमाणित प्रतिलिपि सहित हस्ताक्षर बुझाउनुपर्ने व्यवस्था छ । साथै, कम्तीमा २१ सदस्यीय केन्द्रीय समिति गठन अनिवार्य गरिएको छ ।

यही प्रावधानअनुसार आयोगले तीन दलसँग स्पष्टता मागेको हो । आयोगले हर्क साम्पाङको श्रम संस्कृति पार्टीसँग विधानका प्रावधानबारे स्पष्टीकरण मागेको छ भने नागरिक पार्टी र उज्यालो नेपाल पार्टीसँग पाँच सय सदस्यको हस्ताक्षर अपूरो भएको कारण थप प्रमाण पेश गर्न निर्देशन दिएको हो ।

उज्यालो नेपाल पार्टीकी कोषाध्यक्ष विमली तामाङले पाँच सय जनाको हस्ताक्षर नपुगेको र हस्ताक्षर गरेकाहरूले सनाखत गर्नुपर्ने भनिएको जानकारी दिइन् ।

जनमत पार्टी फुटेर दर्ता हुन पुगेको जनस्वराज पार्टीको प्रक्रिया भने अगाडि बढेको छ ।