© 2026
बुटवल, २७ असोज ।
नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको माग सही नभएको बताएका छन्।
प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था निश्चित गरेर चुनावमा जानुपर्ने चर्चाबीच महामन्त्री सिंहले यो व्यवस्थाले नेपालको हित नगर्ने स्पष्ट पारेका हुन्।
सोमबार पार्टी निकट अखिल नेपाल जनजाती सम्मेलनको महाधिवेशन समापन कार्यक्रममा बोल्दै महामन्त्री सिंहले भने, ‘राष्ट्रपतीय प्रणाली कस्तो हुन्छ, त्यो अमेरिकामा ट्रम्पको शासनले देखाइसकेको छ।’
साम्राज्यवादी तथा पुनरुत्थानवादीहरू गणतन्त्र र धर्मनिरपेक्षताको विरुद्धमा भएको दाबी गर्दै उनले त्यसैको परिणामस्वरूप अहिले संविधान खारेज, संसद् विघटन र संसद् बाहिरबाट प्रधानमन्त्रीको चयन भएको बताए।
गत भदौ २३ र २४ गते जेनजी पुस्ताले भ्रष्टाचार र कुशासनको विरुद्ध आन्दोलन गरे पनि त्यसलाई साम्राज्यवादी शक्तिले उपयोग गरेको सिंहको भनाई थियो।
‘सत्ताधारी दलको कुशासनको विरुद्ध, भ्रष्टाचारको विरुद्ध आन्दोलन आवश्यक थियो’ उनले भने, ‘तर जेनजी पुस्ताको आन्दोलनलाई साम्राज्यवादी शक्तिले उपयोग गरे । मुख्यत अमेरिकी साम्राज्यवाद र भारतीय साम्राज्यवादले उपयोग गरे।’
उनले देशभिका विभिन्न राजनीतिक शक्तिले पनि जेनजी आन्दोलनलाई उपयोग गरेको बताए।
उनले राप्रपा, रास्वपाजस्ता शक्तिले पनि जेनजी आन्दोलनलाई दुरुपयोग गरेको दाबी गरे।
महामन्त्री सिंहले अहिलेको जेनजी प्रकरणबाट जुनसुकै आन्दोलन सही नीति तथा कार्यक्रमको आधारमा सञ्चालन हुनुपर्ने अन्यथा त्यसले सही दिशा दिन नसक्ने प्रस्ट भएको बताए।
‘जेनजी आन्दोलनले पुष्टि गरेको छ, कुनै पनि आन्दोलन सही नीति, नेतृत्व र कार्यक्रमको आधारमा सञ्चालन गरिनुपर्दछ अन्यथा त्यसको परिणाम सही आउँदैन’ उनले भने।
जेनजी आन्दोलन सङ्गठित र योजनाबद्ध नभएकाले नै अहिलेसम्म देशको राजनीतिले प्रष्ट दिशा लिन नसकेको उनको भनाई थियो।
आइतबार भरतपुरमा सुरु भएको अखिल नेपाल जनजाती सम्मेलनको पाँचौं महाधिवेशले निमबहादुर बुढाथोकी मगरको अध्यक्षतामा ३१ सदस्यीय समिति चयन गरेको छ।
सम्मेलनको प्रथम उपाध्यक्षमा कुलबहादुर थापा (कास्की), द्वितीय उपाध्यक्षमा रमेशमान गुरुङ (दाङ), तृतीय उपाध्यक्षमा उषा पुन (अर्घाखाँची), महासचिवमा अमरध्वज रानामगर (प्युठान), सचिवमा रामबहादुर जिएम (दाङ) र कोषाध्यक्षमा हुमबहादुर पुन (बागलुङ) चयन भएका छन्।
महाधिवेशनको उद्घाटन आइतबार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गरेका थिए।