Butwal Today

मधेशकी शिक्षामन्त्री रानी शर्माको राजीनामा

२७ आश्विन २०८२, सोमबार
अ+
अ-

काठमाडौँ ।
मधेश सरकारकी शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले पदबाट राजीनामा दिएकी छन् । मुख्यमन्त्री सतिशकुमार सिंहलाई सोमबार राजीनामा पत्र बुझाउँदै उनले आफ्नो पद त्याग गरेकी हुन् ।

शर्मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट मन्त्री बनेकी थिइन् । मुख्यमन्त्री सिंहले मधेश प्रदेश सभाबाट विश्वासको मत लिने पूर्वसन्ध्यामा उनले राजीनामाको घोषणा गरेकी हुन् ।

यसअघि मुख्यमन्त्री सिंहकै दलले आफ्ना मन्त्रीसहित समर्थन फिर्ता लिइसकेको छ । त्यसैगरी, सत्तागठबन्धनमा रहेका कांग्रेस र एमालेले समेत पहिले नै समर्थन फिर्ता गरिसकेका छन् ।

जेन–जीको आन्दोलन चर्किंदै जाँदा, २४ भदौमा सिंहले सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरेका थिए । तर पछि उनले राजीनामा नदिने निर्णय गरेका थिए ।

त्यसयता उनलाई स–सम्मान पद त्याग गर्न उनका आफ्नै पार्टीका नेताहरूले समेत पटकपटक आग्रह गरेका थिए । तर, उनले त्यो अस्वीकार गर्दै अब सदनबाट विश्वासको मत लिने तयारी गरेका छन् । हालसम्मको स्थितिमा मुख्यमन्त्री सिंहलाई लोसपाको समर्थन मात्रै कायम रहेको छ ।