© 2026
काठमान्डौ, २७ असोज ।
नेकपा माओवादी केन्द्रले नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) देवेन्द्र सुवेदीविरुद्ध साइबर अपराधको उजुरी दर्ता गरेको छ ।
एक युट्युब च्यानलमा भएको कुराकानीका क्रममा सुवेदीले जेनजी आन्दोलन सुरु हुनुभन्दा दुई दिनअघि प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासबाट दुईवटा ट्रकमा दुई करोड रुपैयाँ निकालिएको दाबी गरेका थिए ।
सो अभिव्यक्तिलाई असत्य, भ्रामक र चरित्रहत्या गर्ने प्रकृतिको ठहर गर्दै माओवादी केन्द्रले बिहीबार नेपाल प्रहरीको साइबर ब्यूरोमा औपचारिक उजुरी दिएको हो ।
अध्यक्ष प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यका अनुसार आइतबार ब्यूरोमा दर्ता गरिएको उजुरीमा डिजिटल माध्यममार्फत् भ्रम फैलाउने तथा पार्टी नेतृत्वको बदनाम गर्ने उद्देश्यले गरिएको उक्त अभिव्यक्ति साइबर कानुनविपरीत रहेको उल्लेख गरिएको छ ।
प्र‘झुठ्ठा सामग्री प्रवाह गरी भ्रम सिर्जना गराउनुका साथै चरित्रहत्या समेत गरिएको छ । सामाजिक सञ्जालबाट पार्टी नेतृत्वविरुद्ध चरित्रहत्या गरिदा गम्भीर साइबर अपराध भएकाले निज देवेन्द्र सुवेदी विरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी गरिएको छ,’ प्रचण्डको सचिवालयले भनेको छ, ‘संयोजकको सचिवालयका तर्फबाट हिजो ब्यूरोमा गरिएको उजुरीमा डिजिटल माध्यममार्फत् गरिएका यस्ता गलत प्रचारप्रसार साइबर कानुनविपरीत भएकाले त्यसबारे आवश्यक अनुसन्धान गरी कानुनी कारबाहीको माग गरिएको छ ।’