© २०२३
काठमाडौं, २६ असोज ।
भीआईपी र भीभीआईपी व्यक्तिहरूको सुरक्षामा मापदण्ड विपरीत खटिएका २७१ सुरक्षाकर्मी फिर्ता गरिएका छन् ।
गृह मन्त्रालयको गृहमन्त्रीस्तरीय निर्णयअनुसार २३ असोजदेखि सुरक्षाकर्मी फिर्ता गर्ने प्रक्रिया सुरु गरिएको थियो । सोहीअनुसार नेताहरू लगायत विशिष्ट व्यक्तिहरूलाई दिइएको अतिरिक्त सुरक्षा हटाइँदै आएको छ ।
गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेका अनुसार हालसम्म २७१ जना सुरक्षाकर्मी फिर्ता भइसकेका छन् । तीमध्ये नेपाल प्रहरीका १७४ जना र सशस्त्र प्रहरी बलका ७४ जना रहेका छन् ।
विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ अनुसार पूर्वप्रधानमन्त्रीहरूलाई १६ जना सशस्त्र प्रहरी र २ जना नेपाल प्रहरी मात्र सुरक्षा दिनुपर्ने व्यवस्था छ । तर पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र एमाले अध्यक्ष केपी शर्मा ओलीले मापदण्डभन्दा दोब्बर बढी सुरक्षाकर्मी राखेको पाइएको थियो ।
अन्य पूर्व विशिष्ट व्यक्ति तथा हाल बहालवाला विशिष्ट पदाधिकारीहरूद्वारा मापदण्ड विपरीत राखिएका सुरक्षाकर्मीसमेत गरी २७१ जना फिर्ता गरिएको हो ।
फिर्ता गरिएका सुरक्षाकर्मीहरूलाई अब संबद्ध संगठनले तोकेको नियमित ड्युटीमा खटाइने गृह मन्त्रालयले जनाएको छ ।