Butwal Today

घरमै आक्रमणपछि भागेका युवक मृत अवस्थामा भेटिए

२६ आश्विन २०८२, आइतबार
अ+
अ-

काठमाडौँ ।

कैलालीमा घरमा आक्रमण भएपछि भागेका एक युवक मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार गोदावरी नगरपालिका–१०, ओलानीका ३५ वर्षीय शेरबहादुर चौधरी गोदावरी र ओलानी खोलाको दोभानमा मंगलबार बिहान मृत भेटिएका हुन् ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दले सोमबार राति दुई जनाले चौधरीको घरमा आक्रमण गरेपछि उनी भागेको र त्यसपछि सम्पर्कविहीन बनेको जानकारी दिए । खोजीका क्रममा मंगलबार बिहान उनी मृत भेटिएको बताए । प्रहरीका अनुसार चौधरीको हत्या भएको आशंका गरिएको छ ।

घरमा आक्रमण गरेका दुई जना युवकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा छिमेकी लक्की मल्ल र डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका विकास मल्ल रहेको प्रहरीले जनाएको छ । दुवै जनाविरुद्ध ज्यानसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ ।

लफडाको सुरुवात

२३ असोजको साँझ लक्की मल्ल र विकास मल्ल मृतक शेरबहादुर चौधरीको घरमा गएर लोकल कुखुरा र मदिरा सेवन गरेका थिए । उनीहरू मृतकका सहोदर भाइ रमेश चौधरीसँगै अत्तरियास्थित एक दोहोरी साँझ पुगेका थिए ।

त्यहाँ रमाइलोको क्रममा रमेश चौधरीको दोहोरी साँझका कर्मचारीसँग विवाद भएको थियो । विवादको बीचमा लक्की मल्लले रमेशलाई गालामा झापट हानेर झगडा नगर्न चेतावनी दिएका थिए ।

यसपछि रमेशले तुरुन्तै आफ्ना दाजु शेरबहादुर चौधरीलाई फोन गरेर बोलाए । शेरबहादुर छिमेकी नवराज भट्टसहित त्यहाँ पुगे । भाइलाई कुटेको भन्दै शेरबहादुरले लक्की मल्ललाई झापट हानेका थिए ।

रमेशलाई लिएर उनीहरू घर फर्किए, तर लक्की र विकास मल्ल पनि उनीहरूको पिछा गर्दै घरसम्म पुगे । त्यसपछि घरको ढोका फोडेर आक्रमण गरेपछि शेरबहादुर राति नै भागेका थिए ।

भागेका चौधरीको शव भेटिएपछि

घटनापछि शेरबहादुर चौधरीले छिमेकी नवराज भट्टलाई फोन गरेर “म माथि आक्रमण भएको छ” भन्दै जानकारी दिएका थिए । नवराजकी आमाले उनलाई लुकाएर राखे पनि आक्रमणकारीले त्यो घरमै पुगेर खोज्न थालेपछि प्रहरीलाई खबर गरिएको थियो ।

इलाका प्रहरी कार्यालय मालाखेतीबाट आएको टोलीले लक्की र विकास मल्ललाई नवराज भट्टको घरमै पक्राउ गरेको थियो ।

घरमा आक्रमणपछि भागेका शेरबहादुरको शव फेला परेपछि घटना शंकास्पद बनेको प्रहरीले जनाएको छ । चौधरीका परिवारले हत्या भएको भन्दै दोषीलाई कडा कारबाहीको माग गरेका छन् ।