© २०२३
काठमान्डौ, २६ असोज ।
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेकपा माओवादी केन्द्रसँग प्रस्तावित पार्टी एकीकरणको विरोध गर्दै अहिलेको राजनीतिक परिस्थिति यस्तो कदमका लागि उपयुक्त नभएको बताएका छन् ।
पत्नीको उपचारका क्रममा भारतको नयाँदिल्लीमा रहेका खनालले पार्टीको सचिवालय बैठकमा पठाएको लिखित धारणामा लेखेका छन्, “कमरेडहरू, अहिले हाम्रो पार्टीका लागि कसैसँग पनि पार्टी एकीकरण गर्ने समय होइन । हामी कोही पनि गलत बाटो हिँड्दै भड्खालोमा पर्ने वा अरूलाई पार्ने दिशामा लाग्नु हुँदैन ।”
खनालले पार्टी नेतृत्वलाई सबैभन्दा पहिले एमालेबाट अलग भएर एकीकृत समाजवादी गठन गर्नुपरेको कारणको गम्भीर समीक्षा गर्न आग्रह गरेका छन् । उनले भनेका छन्, “हाम्रो चार वर्षे यात्राको निर्मम समीक्षा गरौँ—ठीक र बेठीक छुट्याऔँ । नवौँ महाधिवेशनदेखि उठाउँदै आएका युवा आवाज र कार्यपद्धतिको मुद्दालाई पुनः आत्मसात् गरौँ ।”
खनालले पार्टी अध्यक्ष माधवकुमार नेपालसहित वामपन्थी नेतृत्वमाथि दक्षिणपन्थी मार्गमा उन्मुख भएको आरोप लगाएका छन् । उनका अनुसार, वामपन्थी दलहरूले जनता र राष्ट्रलाई सही दिशातर्फ डोर्याउनुपर्ने ठाउँमा यथास्थितिवादको मार्ग रोजेपछि मुलुक संकटतर्फ धकेलिएको हो ।
उनले लेखेका छन्, “दक्षिणपन्थीहरूका पछि लागेर वामपन्थी नेतृत्वहरूले सामाजिक–आर्थिक रूपान्तरण र राष्ट्रिय स्वाभिमान सुदृढ गर्ने कार्यभार छोडेपछि देश विदेशी शक्तिको खेलमैदान बन्दै गएको छ—आजको भयावह अवस्थाको यही मुख्य कारण हो ।”
खनालले वर्तमान राजनीतिक परिदृश्यमा वामपन्थी आन्दोलनलाई नयाँ दिशाबाट पुनर्जीवित गर्न प्रत्येक पार्टीमा पुनर्गठन र रूपान्तरण अपरिहार्य भएको औंल्याएका छन् ।
उनले स्मरण गराएका छन्, “मैले नयाँ वर्षको सन्देशमै यो वर्षलाई पुनर्गठन र रूपान्तरणको वर्ष बनाउन आह्वान गरेको थिएँ । अहिलेको परिस्थिति पनि त्यही आवश्यकतामै आइपुगेको छ ।”