© २०२३
काठमान्डौ, २६ असोज ।
विवेकशील साझा पार्टीले जेनजी आन्दोलनसहित वैकल्पिक र परिवर्तनकारी राजनीतिक शक्ति, अभियान, समूह तथा अभियन्ताहरूबीच व्यापक एकताको आह्वान गरेको छ ।
पार्टीका प्रवक्ता आशुतोष प्रधानले शुक्रबार एक वक्तव्य जारी गर्दै समृद्ध नेपालका लागि नयाँ सोच र व्यवहारमा आधारित वैकल्पिक राजनीतिक शक्तिको निर्माण अपरिहार्य भएको उल्लेख गरेका छन् । उनले जेनजी आन्दोलनका अभियन्ता, विभिन्न अभियान र समूहका प्रतिनिधि, साथै सार्वजनिक परिचय बनाएका व्यक्तिहरूसँग सहकार्य, कार्यगत एकता र बृहत्तर एकीकरणका लागि सबै ढोका खुला रहेको स्पष्ट पारेका छन् ।
वक्तव्यमा भनिएको छ, “सबै सरोकारवालाबीच खुला छलफल, बहस र संवादमार्फत बृहत्तर नयाँ शक्ति निर्माण गर्न विवेकशील साझाले सार्वजनिक आह्वान गर्दछ ।”
पार्टीले जेनजी विद्रोहलाई ऐक्यवद्धता जनाउँदै त्यसकै जगमा बनेको प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारलाई स्वागत र सहयोगका साथ अघि बढ्ने प्रतिबद्धता जनाएको छ । साथै, पार्टीले आगामी २१ फागुनमा घोषणा गरिएको निर्वाचनमा सक्रिय रूपमा सहभागिता जनाउने निर्णय पनि गरेको छ ।