© २०२३
काठमान्डौ, २४ असोज ।
इजरायल र हमासबीच युद्धविराम सहमति भएपछि मुक्त गराइने भनिएका २० जना युद्धबन्दीको सूची सार्वजनिक गरिएको छ । तर उक्त सूचीमा नेपाली नागरिक विपिन जोशीको नाम भने समावेश छैन ।
इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितका अनुसार सोमबारभित्र मुक्त गरिने भनिएका ती सबै २० जना व्यक्ति इजरायली नागरिक हुन् ।
अमेरिकाको मध्यस्थतामा दुई वर्षदेखिको युद्ध अन्त्य गर्न इजरायल र हमासबीच विहीबार युद्धविरामको सहमति भएको थियो । सहमति अनुसार पहिलो चरणमा हमासको नियन्त्रणमा रहेका जीवित र मृतक गरी ५० जनालाई मुक्त गरिने उल्लेख गरिएको छ ।
तर कञ्चनपुरका विद्यार्थी विपिन जोशीको अवस्थाबारे अझै स्पष्टता आएको छैन । अध्ययनका लागि इजरायल पुगेका जोशी गत अक्टोबर ७ मा हमासले इजरायलको किबुत्ज क्षेत्रमा गरेको आक्रमणका क्रममा बन्धक बनाइएका थिए । उक्त घटनामा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो ।
विपिनलाई त्यसबेला हमास लडाकुहरूले आफूसँगै लगेको पुष्टि भए पनि त्यसपछि उनको अवस्थाबारे कुनै निश्चित जानकारी सार्वजनिक भएको छैन । सन् २०२३ नोभेम्बर १७ मा गाजा सहरस्थित अल शिफा अस्पतालमा उनी देखिएको दृश्य सार्वजनिक भए पनि त्यसपछिका विवरण अज्ञात छन् ।
राजदूत पण्डितका अनुसार हालै सार्वजनिक ३३ सेकेन्डको भिडियो पनि सोही समयको पुरानो फुटेज हो ।
नेपालको परराष्ट्र मन्त्रालयले पनि विपिनको अवस्थाबारे जानकारी लिने प्रयास जारी रहेको जनाएको छ । मन्त्रालयका एक अधिकारीका अनुसार इजरायल सरकारको तर्फबाट विपिनको जुनसुकै अवस्थाबारे सूचना आउनसक्ने भएकाले परिवारलाई त्यसका लागि मानसिक रूपमा तयार रहन सन्देश आएको छ ।