© २०२३
काठमाडौँ ।
दशैँ विदापछि लगातार दुई दिनसम्म घटेको शेयर बजार बिहीबार पहिलोपटक हरियो बनेको छ । हप्ताभरि तीन दिन मात्र कारोबार खुलेको बजारमा मंगलबार ४५ अंक र बुधबार ५८ अंकले गिरावट आएको थियो । त्यसको विपरीत, बिहीबार बजारमा सुधार देखिएको हो ।
नेपाल राष्ट्र बैंकले ‘मार्जिन प्रकृतिको कर्जा’ मा एकल ग्राहक कर्जाको २५ करोडको सीमा हटाएपछि नेप्से सूचक २२.५९ अंकले उकालो लागेको हो । यद्यपि सूचक अझै २६ सय विन्दुभन्दा तल नै छ । बिहीबार कारोबार खुलेको तेस्रो मिनेटमै नेप्से ४ प्रतिशतले उकालो लागेपछि २० मिनेटका लागि ‘ट्रेडिङ हाल्ट’ गरिएको थियो । त्यसपछि कारोबार पुनः सुरु भए पनि सूचकको गति केही सुस्तिएको देखिएको छ ।
आज नेप्से सूचक २२.५९ अंकले बढेर २५८२.१८ विन्दुमा पुगेको छ । यद्यपि कारोबार रकममा भने उल्लेख्य सुधार देखिएको छैन । बिहीबार २०० वटा कम्पनीको सेयर मूल्य बढेको, ४१ वटाको घटेको, र १० वटा कम्पनीको मूल्य अघिल्लो दिनकै दरमा कारोबार भएको छ ।
बिहीबार कुल १ करोड १८ लाख कित्ता सेयर कारोबार भई ५ अर्ब २७ करोड रुपैयाँको कारोबार भएको छ ।
यस दिन विन्ध्यवासिनी हाइड्रो, एसियन हाइड्रोपावर, एमबीएल इक्विटी फन्ड लगायत कम्पनीको सेयर मूल्य अधिकतम ८.२१ प्रतिशत ले बढेको छ । भने, थ्रिस्टार हाइड्रोपावर, भूगोल इनर्जी डेभलपमेन्ट लगायतका कम्पनीको सेयर मूल्य अधिकतम ९.०९ प्रतिशतले घटेको छ ।
आजको दिन सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । कम्पनीको २७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।