© २०२३
काठमाडौं, २२ असोज ।
बुधबार सेयर बजारका सबै सूचकमा गिरावट आएको छ । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ४५.३६ अंकले घटेर २५५९ अंकमा कायम भएको छ ।
प्रारम्भिक कारोबार सत्र (प्रिओपन) मा नेप्से ५ अंकले उक्लिएको भए पनि नियमित कारोबार सुरु भएपछि बजार निरन्तर ओरालो लाग्यो । दिउँसो १:४१ बजे परिसूचक २५३५ अंकसम्म झरेको थियो, तर त्यसपछि केही सम्हालिँदै दिनको अन्त्यमा २५५९ मा पुगेको हो ।
सेयर बजारमा गिरावट आए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा उल्लेख्य रूपमा बढेको देखिएको छ । मंगलबार ४ अर्ब ६२ करोड रुपैयाँको कारोबार भएको थियो भने बुधबार ५ अर्ब ७६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
दिनभरको कारोबारमा १८ कम्पनीको मूल्यमा वृद्धि भएको छ भने २३२ कम्पनीको सेयर मूल्य घटेको छ । एक कम्पनीको मूल्य भने स्थिर रहेको छ ।
आज सबैभन्दा धेरै फाइनान्स र होटल समूहको सूचक करिब ३ प्रतिशतले घटेको छ । त्यस्तै, बैंकिङ, विकास बैंक, हाइड्रोपावर, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, निर्जीवन बीमा, अन्य र व्यापार समूहको सूचकमा पनि गिरावट आएको छ । त्यसमध्ये हाइड्रोपावर र निर्जीवन बीमा समूहको सूचकमा २ प्रतिशतभन्दा बढीको गिरावट आएको छ ।
आजको कारोबारमा आत्मनिर्भर लघुवित्तको मूल्य ६ प्रतिशतले र थ्रीस्टार हाइड्रोपावरको ४.७ प्रतिशतले बढेको छ । त्यस्तै, केही ऋणपत्रहरूको मूल्य पनि उल्लेख्य रूपमा वृद्धि भएको देखिएको छ ।
दोसोतर्फ, प्रभु इन्स्योरेन्सको सेयर मूल्य ६.१२ प्रतिशतले घटेको छ । मञ्जुश्री फाइनान्सको ५.९६, फर्स्ट माइक्रोफाइनान्सको ५.५३ र सयपत्री हाइड्रोपावरको ५.४७ प्रतिशतले घटेको छ ।
आज सबैभन्दा धेरै कारोबार भएका कम्पनीहरूमा नेपाल पुनर्बीमा, युनियन हाइड्रोपावर, सिनर्जी पावर डेभलपमेन्ट, एनआरएन इन्फ्रास्ट्रक्चर र हिमालयन रिइन्स्योरेन्स रहेका छन् ।