Butwal Today

महेश बस्नेतको प्रश्न– सम्पत्ति शुद्धीकरणको छानबिन रामेश्वर र कुलमानबाट सुरु गर्ने कि नगर्ने ?

२२ आश्विन २०८२, बुधबार
अ+
अ-

बुटवल, २२ असोज ।

नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले हालका अर्थमन्त्री रामेश्वर खनाल र उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङमाथि सम्पत्ति शुद्धीकरणको अनुसन्धान सुरु गर्नुपर्ने माग गरेका छन्।

आज पत्रकार सम्मेलन गर्दै बस्नेतले भने, “सम्पत्ति शुद्धीकरण र भ्रष्टाचारको कुरा गर्दा के रामेश्वर खनालबाट अनुसन्धान सुरु गर्ने कि नगर्ने?” उनले खनाल पूर्वसचिव समेत भएकाले उनीबाट छानबिन सुरु हुनुपर्ने बताएका हुन्।

बस्नेतले मन्त्री कुलमान घिसिङमाथि पनि दर्जनौँ उजुरी रहेको दाबी गर्दै छानबिन आवश्यक भएको बताए। उनका अनुसार, “कुलमानजीमाथि अख्तियार, सम्पत्ति शुद्धीकरण विभाग र संसदीय समितिमा समेत दर्जनौँ मुद्दा छन्। अब छानबिन त्यहीँबाट सुरु गर्ने कि नगर्ने?”

बस्नेतले सबैलाई कानुनी समानताका आधारमा अनुसन्धान गर्नुपर्ने बताउँदै सरकारको निष्पक्षता परीक्षणको समय आएको टिप्पणी गरे।