Butwal Today

जेनजी प्रदर्शनका कारण नेपालको आर्थिक वृद्धिदर घट्ने विश्व बैंकको अनुमान

२१ आश्विन २०८२, मंगलवार
अ+
अ-

काठमाडौँ ।

चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि दर संकुचित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । ‘साउथ एसिया डेभलपमेन्ट अपडेट’ सार्वजनिक गर्दै विश्व बैंकले भदौ चौथो साता भएको जेनजी आन्दोलनको असर अर्थतन्त्रमा देखिने बताएको हो ।

विश्व बैंकको अनुसार, चालू आर्थिक वर्ष (२०८१/८२) मा नेपालको आर्थिक वृद्धि दर खुम्चिएर २.१ प्रतिशतमा झर्नेछ । यस वर्षको वृद्धिदर १.५ देखि २.६ प्रतिशतबीच सीमित रहने अनुमान समेत गरिएको छ ।

गत आर्थिक वर्ष २०७९/८० मा नेपालको आर्थिक वृद्धि दर ३.७ प्रतिशत रहेको थियो । यस वर्ष सुरुवाती अनुमान अनुसार ४.६ प्रतिशतले वृद्धि हुने अपेक्षा गरिएको थियो । तर जेनजी आन्दोलन, बाढी, पहिरोजस्ता आन्तरिक समस्याले तीव्र आर्थिक मन्दी ल्याउने देखिएको छ ।

विश्व बैंकले आगामी आर्थिक वर्ष (२०८२/८३) मा भने नेपालले ४.७ प्रतिशतको वृद्धि हासिल गर्ने अनुमान गरेको छ ।

रिपोर्टमा विदेशी पर्यटक आगमन घट्नु, आन्दोलनका क्रममा भौतिक संरचनामा भएको क्षति तथा बीमा क्षेत्रमा त्यसको असर पर्ने उल्लेख छ । बीमा दावीको मात्रा बढेपछि बीमा कम्पनीहरू आर्थिक रूपमा दबाबमा पर्ने विश्व बैंकको विश्लेषण छ ।

यसबाहेक, लगानी मनोबल घट्दा निजी क्षेत्रको लगानी, निर्माण क्षेत्रमा विशेषतः गैर–जलविद्युत आयोजना प्रभावित हुने र कृषिमा पनि प्रतिकूल मौसमको असर देखिने अनुमान गरिएको छ ।

धान उत्पादन हुने प्रदेशहरूमा समयमै वर्षा नहुनु कृषिको लागि नकारात्मक कारक बनेको छ । यद्यपि, सरकारले पुनर्निर्माणको लागि देखाएको प्रतिबद्धता र कार्यान्वयनमा देखिने सक्रियताले आगामी आर्थिक वर्ष र त्यसपछि सुधारको संकेत दिने विश्व बैंकको अपेक्षा छ ।

दक्षिण एसियाली मुलुकहरूको आर्थिक वृद्धिदरको सन्दर्भमा सन् २०२४ मा यस क्षेत्रको कुल गार्हस्थ्य उत्पादन  वृद्धिदर ६.४ प्रतिशत रहेकोमा, यस वर्ष ६.६ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।

सन् २०२६ मा यो दर घटेर ५.८ प्रतिशतमा सीमित हुने र २०२७ मा पुनः ६.५ प्रतिशतले वृद्धि हुने अनुमान छ ।

दक्षिण एसियाली मुलुकमध्ये सबैभन्दा बढी आर्थिक वृद्धि भुटान (७.३ प्रतिशत) ले गर्नेछ भने सबैभन्दा कम वृद्धि नेपाल (२.१ प्रतिशत) मा सीमित रहनेछ ।