© २०२३
काठमाडौँ ।
दसैँको दुर्गा पूजाको विषयमा विवाद भएपछि सिरहामा दलित समुदायको घर भत्काइएको घटनामा वडाध्यक्षसहित तीन जना पक्राउ परेका छन् । कल्याणपुर नगरपालिका–८ का वडाध्यक्ष रामकिशोर यादव पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख एसपी अनन्तराज शर्माका अनुसार, अन्य १३ जनाविरुद्ध आपराधिक उपद्रवअन्तर्गत जाहेरी दर्ता गरिएको छ ।
“यस घटनामा संलग्न रहेको आरोपमा वडाध्यक्षसहित ३ जना पक्राउ परिसकेका छन् । १३ जनाविरुद्ध जाहेरी छ,” शर्माले भने, “फरार रहेकाहरूको खोजी र अनुसन्धान जारी छ ।”
प्रहरीका अनुसार, दसैँको दुर्गा पूजाको क्रममा स्थानीय दलित समुदायसँग विवाद भएको थियो । सोही विवादपछि ऐलानी जग्गामा रहेका दलित समुदायका ५ वटा घर वडाध्यक्ष यादवको समूहले भत्काएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
“तीमध्ये ३ वटा घर त बस्नै नसकिने गरी पूर्ण रूपमा क्षतिग्रस्त छन् । २ वटा घरमा पनि क्षति पुगेको छ,” शर्माले जानकारी दिए ।