© २०२३
काठमान्डौ, २० असोज ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हाल देखिएका प्राकृतिक विपद्का परिस्थितिमा पानीजन्य र कीटजन्य रोग फैलिन सक्ने भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार विपद्का बेला पानी प्रदूषित हुन सक्ने भएकाले पखाला, हैजा जस्ता पानीजन्य रोग र डेङ्गी, मलेरिया जस्ता कीटजन्य रोग फैलिन सक्ने जोखिम बढेको छ । उनले यस्ता रोगबाट बच्न शुद्ध र उमालेको पानी पिउन, सरसफाइमा विशेष ध्यान दिन र आवश्यक परे तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेका छन् ।
डा. बुढाथोकीका अनुसार प्राकृतिक विपद् प्रभावित क्षेत्रमा बसोबास र खानपानको समस्या हुने भएकाले खानासम्बन्धी रोग, आँखा पाक्ने रोग र मानसिक स्वास्थ्य समस्या पनि देखा पर्न सक्ने सम्भावना रहन्छ । उनले यस्तो कुनै लक्षण देखिएमा ढिलाइ नगरी नजिकको स्वास्थ्य संस्थामा जान सुझाव दिएका छन् ।
मन्त्रालयले स्वास्थ्य स्वयंसेविका, स्थानीय स्वास्थ्यकर्मी र जनप्रतिनिधिमार्फत समुदायमा शुद्ध पानी पिउन, हात धुने र सरसफाइमा ध्यान दिन आवश्यक सचेतना फैलाउन पनि निर्देशन दिएको छ ।
आपतकालीन अवस्थामा स्वास्थ्य सेवा आवश्यक परेमा तालिम प्राप्त चालक र स्वास्थ्यकर्मी सहितको एम्बुलेन्स सेवा १०२ नम्बरमा सम्पर्क गरेर प्राप्त गर्न सकिने मन्त्रालयले जनाएको छ । त्यस्तै, स्वास्थ्यसम्बन्धी कुनै पनि आपतकालीन जानकारी वा सल्लाहका लागि १११५ हटलाइन नम्बरमा सम्पर्क गर्न समेत आग्रह गरिएको छ ।