© 2026
काठमाडौं, १९ असोज ।
२४ भदौमा जेनजी आन्दोलनका क्रममा आगजनी, तोडफोड तथा लुटपाटका घटना भएका उद्योगी–व्यवसायीले ३० दिनभित्र कर कार्यालयमा जानकारी दिनुपर्ने भएको छ ।
मूल्य अभिवृद्धि कर (भ्याट) नियमावलीको नियम ३९क अनुसार आगजनी, चोरी, दुर्घटना, टुटफुट वा ध्वंसात्मक गतिविधिका कारण हानि–नोक्सानी भएमा करदाताले नोक्सान भएको वस्तुमा तिरेको कर कट्टी गर्न पाउने व्यवस्था छ ।
तर, त्यस्तो कर कट्टीका लागि घटना भएको ३० दिनभित्र कर अधिकृत समक्ष निवेदन दिनुपर्ने व्यवस्था पनि सोही नियममा उल्लेख गरिएको छ ।
चार्टर्ड एकाउन्टेन्ट (सीए) शेषमणि दाहालका अनुसार, भ्याट कानुन बमोजिम जुनसुकै सम्पत्तिको क्षति भए पनि त्यसको जानकारी ३० दिनभित्र कर कार्यालयलाई लिखित रूपमा दिनैपर्छ । निवेदन दर्ता गरेर त्यसको प्रतिलिपि करदाताले आफूसँग सुरक्षित राख्नुपर्ने उनले बताए ।
त्यस्तो सम्पत्तिको बीमा भएको खण्डमा पनि कर कार्यालयलाई क्षतिबारे जानकारी गराउनुपर्ने दाहालले स्पष्ट पारे । उनले भने, ‘कर कार्यालयमा दिइने निवेदनमा सम्पत्तिमा क्षति भएको र त्यसको भ्याट कानुन बमोजिम मूल्यांकन गरी क्षति यकिन गरिदिनुहुन उल्लेख गर्नुपर्छ ।’
दाहालका अनुसार, निवेदनमा अनुमानित नोक्सानी रकम अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने छैन । तर, ३० दिनभित्र जानकारी नदिए कर कार्यालयले क्षतिलाई अमान्य मानी १३ प्रतिशत भ्याट उठाउन सक्छ । ‘विगतमा पनि समयमै निवेदन नदिँदा सरकारले यस्ता धेरै घटनामा भ्याट उठाएको उदाहरण छ,’ उनले भने ।
भ्याटमा दर्ता नभएका करदाताका हकमा कानुन बमोजिम सूचना दिन अनिवार्य नभए पनि, जानकारी नदिँदा विभिन्न समस्या आउने भएकाले सूचना दिनु उत्तम हुने दाहालको सुझाव छ ।
जेनजी आन्दोलनका क्रममा आक्रमणकारीले भाटभटेनी, सीजी, हिल्टन होटलसहित दर्जनौँ निजी व्यवसायमा आगजनी, तोडफोड र लुटपाट गरेका थिए । सो घटनाबाट करिब ८० अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।
त्यसरी क्षति बेहोरेका व्यवसायीलाई कर तथा भन्सार छुटसहित पुनरुत्थान योजना ल्याउने तयारी सरकारले गरेको छ ।