© 2026
काठमाडौं, १९ असोज ।
सभामुख देवराज घिमिरेले देशभर बाढी र पहिरोका कारण उत्पन्न विपद् व्यवस्थापनमा सरकारको सक्रिय भूमिकालाई धन्यवाद दिएका छन् ।
आइतबार एक सन्देश जारी गर्दै उनले असोज १६ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्याएकोप्रति आफू अत्यन्त दुःखी र मर्माहत भएको जनाएका छन् । साथै, विपद्बाट प्रभावित नागरिकहरूप्रति गहिरो सहानुभूति व्यक्त गर्दै उनले सरकारको सक्रियता र प्रयासको प्रशंसा गरेका हुन् ।
सभामुख घिमिरेले सन्देशमा लेखेका छन्, ‘सरकारका तर्फबाट उद्धार तथा पुनर्स्थापनाका लागि सबै सुरक्षा निकाय, स्वास्थ्यकर्मी, प्राविधिक टोली तथा स्वयंसेवकहरूलाई परिचालन गरिएकोमा धन्यवाद व्यक्त गर्दछु । साथै, पीडित नागरिकको राहत र पुनःस्थापनामा अझ प्रभावकारी रूपमा ध्यान दिनु आवश्यक छ भन्ने विषयमा सरकारको ध्यानाकर्षण गराउँदछु ।’
उनले थप लेखेका छन्, ‘चुनौतीपूर्ण घडीमा सबै मिलेर, एकजुट भएर अघि बढ्न सकिएमा मात्र हामीले यो विपद् पार गर्न सक्छौं । राहत तथा उद्धारमा संलग्न सुरक्षाकर्मी र स्थानीय प्रशासनलाई पूर्ण सहयोग गर्न सम्पूर्ण देशबासीहरूमा हार्दिक अपिल गर्दछु ।’