© २०२३
काठमान्डौ, १९ असोज ।
मलेशियासँगको पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाको तेस्रो खेलमा नेपाली महिला क्रिकेट टोली १३ रनले पराजित भएको छ ।
क्वालालम्पुरको बायुमास क्रिकेट ओभलमा टस जितेर ब्याटिङ गरेको घरेलु टोली मलेशियाले २० ओभरमा चार विकेट गुमाएर १ सय २० रन बनाएको थियो । मलेशियाकी आइना हमिजाह हशिमले ६१ रन बनाए ।
नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १ सय ७ रन मात्र बनाउन सक्यो । नेपाली टोलीका रुबी पोद्दारले ३१ रन जोडे भने कप्तान इन्दु बर्माले नट आउट २२ रन बनाइन् । मलेशियाका नुर दानिया सुहाडा र एइसा एलीसा फिरदौजले १–१ विकेट लिए । नेपालका ६ जना खेलाडी रन आउट भए ।
नेपालकी कविता कुँवरले मलेशियाको ब्याटिङ टोलीबाट दुई विकेट लिइन् । यससँगै पाँच खेलको शृङ्खलामा मलेशियाले २–१ को अग्रता लिएको छ । शृङ्खलाको पहिलो खेलमा नेपाल तीन रनले पराजित भएको थियो भने दोस्रो खेलमा ६ विकेटले विजयी भएको थियो ।